काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले बुधबार भातृ संगठन युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ ।’
‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै ।’
ओलीले यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवाहरुलाई निर्देशन दिए ।
ओलीले दोस्रो प्रधानमन्त्रीकालमा आफ्ना युवा कार्यकर्तालाई साईबर सेना बन्न यस्तै आदेश दिएका थिए । तिनै साईबर सेनाको प्रभावमा परेर देशभरका युवाहरुले एमाले अध्यक्ष ओलीलाई अहिलेसम्म सामाजिक संजालमा गालिको वर्षा वर्षाइरहेका छन् ।
आजै ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई लक्ष्य गर्दै चिसै पानीले नुहाउनुपर्ला भन्ने टिप्पणी समेत गरे ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गत सोमबारको मन्त्रिपरिषद बैठकबाट हटाउने निर्णय गरेपछि सञ्चारमाध्यमहरूबाट उक्त खबर थाहा पाएको उल्लेख गर्दै प्रचण्डले भनेका थिए, ‘मन्त्रिपरिषद् बैठकबाट कुलमान घिसिङलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ। आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु।’
प्रचण्डले फेसबुकमा लेखेको उक्त स्टाटसप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्ना कुन्ठा छर्ने थलो बनाउन खोज्नु हुन्छ संसदलाई, त्यो हामीले बुझेका छौं। यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ। के के न ठूलो अपराध गरेजस्तो, मैले यस्तो थाहा पाएँ, यो कुरा असत्य होस्, कुनै महान् ठूलो कुराजस्तो। भ्रष्टाचार गरेजस्तो। होइन रहेछ भने नत्र, म भन्दिनँ चाहन्छु चिसै पानीले नुहाउनु हुन्छ अन्तिममा।’
घिसिङलाई हटाएको विरोधमा नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध गर्दै प्रधानमन्त्रीबाट जबाफ मागेका थिए।
प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताए ।
ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गरे । एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्री ओलीको जवाफ भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे ।
ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाउँदै हल्का र उत्ताउलो नहुन बिपक्षीलाई सुझाव दिए ।
एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिएका थिए ।