काठमाडौँ । गणतन्त्र व्यवस्था विरुद्ध उत्रिएको राजा पक्षधरका समुहले विभिन्न व्यक्ति, संस्था र सरकारी सम्पत्ति तोडफोड गरेका छन् ।
राजधानीको तिनकुनेमा आज शुक्रबार भएको प्रदर्शनमा प्रदर्शनकारीले सडक वरपरका घरहरु तोडफोड र आगजनी गरेका हुन् ।
क्षतिको विवरण संकलन भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।
प्रदर्शनकारीको आक्रमणबाट दर्जनौं सुरक्षाकर्मीहरु घाइते भएका छन् । केही सुरक्षाकर्मीको अवस्था गंभिर रहेको छ ।
राजतन्त्र पक्षधरले विवादित व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डर बनाएका थिए । यी प्रसाईं जब आँफैले गाडी हुँइक्याउँदै सुरक्षाकर्मी पेल्दै अघि बढे तब प्रदर्शनकारीहरु उग्र बनेका थिए ।
अनियन्त्रित भीडले सर्वसाधारणका घरहरु, गाडीहरु, ट्राफिक स्ट्याण्ड आदि भौतिक संरचना ध्वस्त बनाएका थिए ।
विवादित प्रसाईंलाई आन्दोलनको कमाण्डर बनाएपछि अधिकांश राजतन्त्र पक्षधर नेताहरु प्रदर्शनमा सहभागी भएनन् ।
राप्रपाका नेता रविन्द्र मिश्र सहभागी भएपनि उल्टै प्रदर्शनकारीले अन्धाधुन्ध अराजकता देखाउन थालेपछि भागेका थिए ।
चरम विवादित व्यक्ति प्रसाईंकै नेतृत्वमा प्रदर्शन हुने भनेपछि राप्रपाका अन्य नेताहरु सहभागी भएनन् । पूर्वपञ्च नेता नवराज सुवेदी आक्रमणकारीहरुकै निशानामा परेपछि सभालाई सम्बोधन नगरी घर फर्किएका थिए ।
आँफैले लिएको बैंकको ऋण मिनाहा गर्न प्रसाईंले दबाब स्वरुप पटक पटक विपन्न र निरीह नागरिकलाई प्रयोग गर्दै आएका छन् ।
प्रसाईं विरुद्ध इन्डियन कुख्यात धार्मिक आतंकवादका नाईके तथा विभिन्न अपराधमा संलग्न लरेन्स विश्नोईसँग सम्बन्ध रहेका मुद्दाहरु अहिले पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र अदालतमा विचाराधिन रहेका छन् । उनी विरुद्ध आजै शुक्रबार प्रहरीको साईबर व्यूरोमा पक्राउ गर्न उजुरी समेत परिसकेको छ ।
प्रसाईं विरुद्धका पुराना मुद्दाहरु पुनः अनुसन्धान थाल्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
प्रसाईं चरम विवादित भएका कारण देखाएर राप्रपा नेता प्रकाशचन्द्र लोहनीले आजको प्रदर्शनमा सहभागी नहुने बताएका थिए ।
आजको प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत कोही पनि सहभागी भएनन् । प्रदर्शनकारी कहाँबाट आए र कसरी ल्याइयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । प्रदर्शनकारीले इन्डियाका उत्तर प्रदेशका मुख्यमन्त्री तथा कट्टर इन्डियन हिन्दुत्व आदित्यनाथको तस्बिर समेत बोकेका थिए ।
केही प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसेका थिए । यी सबै घटनाहरुको अनुसन्धान गरेर दोषीजति जहाँ भएपनि पनि खोजेर धमाधम पक्राउ गर्ने तयारी थालिएको प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता दिनेश आचार्यले जानकारी दिए ।