काठमाडौँ । पूर्वराजा पक्षधरले शुक्रबार गरेको अराजक प्रदर्शनमा सहभागी धवलशमशेर राणा, रविन्द्र मिश्र र स्वागत नेपाल पक्राउ परेका छन् ।
राणा र मिश्र राप्रपाका नेता हुन् भने नेपाल कानुन व्यवसायी हुन् ।
प्रहरीले तीनैजनालाई रातको करीब ११ बजे विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनिहरुलाई पक्राउ गरेको बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ ।
त्यसैगरि, पूर्वपञ्च नेता नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्दमा राखेको छ । सुवेदी बृद्ध अवस्थामा भएकोले उनलाई पक्राउ गरेर थुनामा नलिएको तर घरमै नजरबन्दमा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरि, आन्दोलनका कमाण्डर भनिएका विवादित व्यक्ति दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले व्यापक सर्च अभियान चलाएको छ ।
प्रसाईं भागेर उपत्यका बाहिर गएको आशंका छ । शुक्रबार भएको प्रर्दशनकारीलाई उचालेर प्रसाईं भने एकाएक भागेका थिए ।
शुक्रबारको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु, लुटपाट, आगजनी, तोडफोड र अर्बौं सम्पतिको नोक्सान भएको छ । प्रसाईंले नै एक साता अघिदेखि लुटपाट गराउन र अराजकता मच्चाउन बाहिरबाट युवाहरु ल्याएर सिकाएर प्रदर्शनमा पठाएको प्रहरी स्रोतले जनायो ।
उनी माथि साईबर अपराध, संगठित अपराध र नेपालमा सामाजिक सद्भाव खल्बलाउने अपराधका मुद्दाहरु प्रहरी र अदालतमा बिचाराधीन अवस्थामा रहेका छन् ।