काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार पूर्वराजाका पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट र आगजनी जस्ता अक्षम्य गतिविधिहरूको घोर भर्त्सना गरेको छ ।
रास्वपाले विज्ञप्ति जारी गर्दै पूर्वराजा समर्थकहरूको गतिविधिप्रति तीव्र विरोध जनाएको छ ।
रास्वपाले शुक्रबारको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवम् शान्तिपूर्ण रूपमा प्रस्तुत हुन समेत सचेत गराएको छ ।
साथै रास्वपाले विज्ञप्तिमा भनेको छ,‘प्रदर्शनको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएकोप्रति समेत सो पार्टीले गहिरो दुःख व्यक्त शोक सन्तप्त परिवारप्रति समवेदना छ ।’
अराजक समूहले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी समेत बालकुमारीमा जलाइदिएको घटनाको रास्वपाले निन्दा गरेको छ । साथै घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
पूर्वराजा पक्षधरको अराजक प्रदर्शनका कारण दुईजनाको मृत्यु, लुटपाट, आगजनी, तोडफोड र अर्बौंको सम्पति नष्ट भएको छ ।
रास्वपाको विज्ञप्ति–
वि.सं. २०८१ चैत १५
ने.सं. ११४५ चिल्लागा चतुर्दशी
विज्ञप्ति
शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि पनि हो । लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भत्र्सना गर्दछ । आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवं शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराउँछौं ।
आजको आन्दोलन अराजक हुन सक्ने पूर्व सूचनाहरुका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाउँछ । आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो । विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै लिनपर्छ भन्ने हाम्रो ठहर हो ।
आज भएको प्रदर्शनको भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षिय सविन महर्जनको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । राजावादी समूहले भक्तपुरतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी समेत बालकुमारीमा जलाइदिएको घटनाको पनि हामी निन्दा गर्छौं । घाइते हुनुभएका सुरक्षाकर्मी तथा आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनद्वारा जारी सूचना अनुसार आ–आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन हामी सबैमा अनुरोध गर्दैछौं ।
मनिष झा
प्रवक्ता (कार्यवाहक)
