काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा लगाएको कर्फ्यु हटेको छ ।
काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु आदेश स्थगन गरेको सूचना जारी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।
शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।
शनिबार विहानै प्रशासनले कर्फ्यु हटेको सूचना जारी गरिसकेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।
शुक्रबार पूर्वराजा पक्षधरले हिंसात्मक गतिविधि गरेपछि प्रशासनले लगाएको थियो । प्रदर्शनका क्रममा २ जना सर्वसाधारण नागरिकको मृत्यु, व्यक्तिका घरमा आगजनी, तोडफोड, धनमाल लुटपाट र विध्वंस उत्पन्न भएको थियो ।
यो अराजक गतिविधिमा संलग्न भएको सयजना बढी पक्राउ परिसकेका छन् । अझै लुटपाट, आगजानी र तोडफोडमा संलग्नलाई सिसीटिभी, बाहिर आएका भिडियो र तस्बिर हेरेर खोजीखोजी पक्राउ गर्ने प्रहरीले जनाएको छ ।
अराजक गतिविधि मच्याएर फरार भएका चरम विवादास्पद व्यक्ति दुर्गा प्रसाईं फरार रहेका छन् ।