इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन् ।
हाल जेलमा रहेका खानलाई पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गरेकोमा एकपटक फेरि नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको हो ।
इमरानले आफ्नो खेल जीवनपछिको राजनीति यात्रामा पाकिस्तानलाई खुल्ला समाजतर्फ डोर्याउने प्रयास थालेका थिए । उनको यो प्रयासलाई खुल्ला विचार भएका तन्नेरीले साथ दिए ।
तर, पाकिस्तानका अतिधार्मिक दलहरु र राज्यपक्षले इमरानका धेरै गतिविधिमा अंकुश लगाउँदै गए । धर्मले थिलोथिलो भएको पाकिस्तानको संस्थापन पक्षसँग भिड्न उनी कमजोर सावित भए । अन्ततः इमरान पनि पाकिस्तानको राजनीति जस्तै देखिए ।
तर, पनि हालसम्म पाकिस्तानमा इमरान इमान्दार नेतामा दरिएका छन् ।
नोबेल पुरस्कारको घोषणा नर्वेको राजनीतिक दल पार्टियट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्स (पीडब्ल्यूए)ले गरेको हो । राष्ट्रिय कोषको दुरुपयोग गरेको आरोपमा इमरान २०२३ देखि जेलमा रहेका बेला यो मनोनयन आएको हो ।
यसअघि २०१९ मा पनि भारतसँगको तनाव कम गरेकोमा उनको नाम नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको थियो । पाार्टियट सेन्ट्रमले आइतबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गरेको छ । मनोनयन गर्ने अधिकार भएका कोही व्यक्तिसँग मिलेर पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेको पोष्टमा भनिएको छ ।
इमरान खानलाई २०१९ मा नोबेल शान्ति पुरस्कारको लागि पनि मनोनयन गरिएको थियो ।
एजेन्सी