हुन त यो लेखको मुन्तिर पनि पक्कै गाली आउनेछ । अहिले गाली नआउने कहाँ छ र ! गाली पोख्ने मुख्य साधन बनेको छ, सामाजिक संजाल । कसैको ढोकामा जाने संस्कार बदलिएर संजालका मुखमा वर्सिन्छ गाली ।
बुधबार (चैत २०) दिउँसो वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । भेटका बारेमा मिडियाले समाचार बनाए । समाचारको तल उधुम गाली थियो । अर्थात कमेन्टभरि गाली । हुन त यो कमेन्टको सुविधा अहिले गाली विसाउने चौतारी बनेको छ ।
महजोडीले गाली खाएको यो पहिलो पटक होइन । यो वर्षको सुरुमै महजोडीलाई माफी माग्न बाध्य पारियो । गत (२०८१) जेठ १४ गते अष्ट्रेलिया पुगेका महजोडीले उतैबाट माफी मागेको सन्देश जारी गरेका थिए । त्यसयता महजोडीले गाली खाने क्रम जारी छ ।
राजनीतिमा कस्ले बढी गाली खायो यसको कुनै लेखाजोखा छैन । किनकी, सत्तामा जो गयो उसैले बढी गाली खान्छ । यो वर्ष नेपालको राजनीतिक आकाशमा केपी शर्मा ओली सर्वाधिक गाली खानेमा पर्छन् ।
हुन त यो कुनै आधिकारिक विवरण होइन । सरर सामाजिक संजाल हेर्दा देखिने दृष्यका आधारमा गरिएको मुल्यांकन हो । हचुवाका भरमा लेख्नु पनि गाली खाने मेसो हो । यी प्रमाणित गाली संख्या नभई मनले देखेका बीजगणित हुन् । हुन त प्रमाणित विषय लेख्दा पनि गाली नआउने कहाँ हो र !
गाली आउन कुनै झुठ र सत्य बोल्न लेख्न पर्देन । झुठ र सत्य दुबैमा समान गाली आउँछ । किनकी, अहिले नेपाली समाजमा एउटालाई झुठ लागेको विषय अर्कोलाई सत्य लाग्छ । अर्कोलाई सत्य लागेको कुरा झन अर्कोलाई झुठ लाग्छ ।
गालीको अर्थ दुर्वचन हो । अशिष्ट हो । यसले त्यो समाजको चित्र प्रस्तुत गर्छ । मानिसको चरित्र स्पष्ट पार्छ । नेपालमा भने गाली कहिलेबाट सुरुवात भयो यसै भन्न सकिंदैन । तर, समाजमा मानिस मानिसबीच सानो र ठुलोको भिन्नता हुन्छ, अनि गाली पनि सँगसँगै प्रकट हुने गर्छ । युद्धमा गाली पृथक अस्त्र मानिन्छ । इशापूर्व पहिलेदेखि नेपालमा युद्ध भएको इतिहासमा पढ्न पाइन्छ । शाहकाल हुँदै आधुनिक गणतन्त्रकालसम्म अनेक युद्ध भएकोले यहाँको जमिनमा गाली धेरै पुरानो चट्टान बनेर गढेको छ । यसको गहिराईको मापन अहिलेसम्म हुन सकेको छैन ।
वर्तमान गालीतिरै फर्कौं । सामाजिक संजालको व्यापक प्रयोगपछि नेपालमा गालीको तीव्र विकास भएको मानिन्छ । यो सन २०१० देखिको सुरुवात हो । हुन त विश्वका विकसित मुलुकका मानिसहरु सन २००४ तिरै सामाजिक संजालमा प्रवेश गरिसकेका थिए । नेपालमा भने गाउँघरदेखि नेपाली पुग्ने खाडीसम्म यसको व्यापक प्रयोग सन २०१०/०१२ तिर नै हो ।
पहिले पहिले गाली गाउँका पर्खाल, चोक, बजारमा मन्दिरका पेटी, सभा, कार्यालय, सडक छेउ, चिया पसल, पिँढी, आँगन, बरण्डा, बारीका पाटा, खेतका आली, वनपाखा, पखेराका खोप्पो, रुखका हाँगा, घरको छत, थुम्को, टाकुरा, चौतारा आदि आदि स्थानमा हुने गर्दथ्यो । तर, आजकल अलिअलि चिया पसल र अरु जम्मै सामाजिक संजालमा गाली थुप्रिन्छ । पूर्वीय शास्त्र अनुसार, गाली गर्नेलाई शैतानी स्वभाव भनिन्छ ।
श्रीमद्भगवतगीताको एक अनुच्छेदमा भनिएको छ,‘भगवान श्रीकृष्ण महायज्ञमा व्यस्त थिए । अचानक एक ब्राम्हण आएर धमाधम श्रीकृष्णलाई गाली गर्न थाले । आफ्नो प्रिय दार्शनिक गुरु, मित्र, बालसखा अनि सारथिलाई गाली गरेको देख्न नसकेर कुंतीपुत्र अर्जुनलाई बेस्मरि रिस उठ्यो । अर्जुन के जाइलाग्दै थिए, श्रीकृष्णले रोक्दै भने,‘ हे पार्थ,क्रोधबाट पूर्ण मोह उत्पन्न हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित भएपछि बुद्धि नाश हुन्छ, जब बुद्धि हराउँछ, मानिस यो संसाररुपी कुवामा फेरि खस्दछ । जाउ, ब्राम्हणको समस्या बुझेर आउ ।’ (गीता दोस्रो अध्याय, श्लोक ६३)
फेरि श्रीकृष्णले अर्जुनलाई युद्धमा हौसला दिंदै भनेका छन्,‘तिम्रा शत्रुहरुले तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौंँ दुर्वचनहरु भनेर तिम्रो निन्दा गर्नेछन्, त्यो भन्दा कष्टदायी कुरा तिम्रा लागि अरु के होला ? (गीता दोस्रो अध्याय, श्लोक ३६) (यो अनुच्छेद पुर्वीय दर्शनमा विश्वास गर्नेका लागि है)
नेपालको राजनीतिले गाली गर्ने ठुलो शिक्षा प्रदान गरेको छ । खासगरि, कम्युनिष्टहरु गालीकै पहाड उक्लेर राजनीतिको टाकुरामा पुगेका थिए । कुनैबेला अमेरिकी साम्राज्यवाद र भारतीय (इन्डियन) विस्तावाद शब्दावली तयार गरेर कम्युनिष्टले धाराप्रवाह गाली गर्थे । अहिले भने कम्युनिष्ट बदलिएका छन् र गालीका शैली शब्दमा परिवर्तन आएको छ ।
गालीलाई पनि प्रेमपूर्वक सम्बोधन गर्ने पार्टी नेपाली कांग्रेस हो । हुन त नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हालै भक्कुमार गाली खाएका थिए । के कारणले गाली खाए, तीतिर खोतल्नतिर नलागौं । कांग्रेसमा धेरै गाली गर्न जान्नेमा गगन थापा फष्ट मानिन्छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई दुई पटक अपदस्थ गर्दा पनि अझै कांग्रेसले गाली गर्न जानेको छैन । देउवाको गाली त झन मकैको ढोडको पिटाई जस्तो हुन्छ । नछुने, नदुख्ने !
वर्तमानमा गालीको श्रृँखला हेर्दा एमाले पहिलो पार्टीमा दरिएको छ । गाली गर्नकै लागि एमालेले साइबर सेना बनायो ।
०५४ सालताका तत्कालीन एमाले नेता वामदेव गौतम गाली गर्नेमा अब्बल थिए । निरन्तर गाली गरेर सदावहार गाली शिरोमणि पदवी पाएका व्यक्तिमा केपी शर्मा ओली नै पर्छन् । आजपर्यन्त ओलीले अरुलाई पनि गाली गर्छन्, उनी स्वयं पनि निकै गाली खान्छन् । ओलीका लागि गाली भिटामिन जस्तै छ । पर्याप्त गाली भएन भने ओली कतै विरामी छन् भन्ने बुझ्न सकिन्छ ।
राप्रपामा एकजना माइतिघरमा गाली गरेरै चिच्याउँदा चिच्याउँदा कर्णालीबाट चुनाव जितेर संसदमा पुगे । राप्रपामा अधिकांश गाली गर्न नजान्ने भद्र नेता छन् । नेपालमा कुलीन वर्ग तुलनात्मक रुपमा कम गाली गर्नेमा पर्छन् । यिनीहरु गाली खानेमा परेका छन् ।
हाल ज्यूँदो शिर्ष नेतामा गाली नखाने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मात्र छन् । हुन त जनताले गाली त्यसलाई गर्छ, त्योसँग पर्याप्त शक्ति छ ।
पूर्वप्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललाई बराबर गाली आउँछ । हुन त बढी समय सत्ता चलाउने अवसर प्रचण्डले पाएका थिए । तर, गाली भने माधव र भलनाथले बढी नै खानुपरेको छ । जनताको नजरमा यी दुबै नेता अझै एमालेकै कोटामा पर्छन् । एमाले यतिबेला सर्बाधिक गाली खाने पार्टीमा पर्छ । राजनीति दल बाहेक गाली खानेमा अहिले मिडिया क्षेत्र दोस्रो नंवरमा छ ।
विश्व मानचित्रमा गाली
युक्रेनले युद्ध भोगेको दुई वर्ष नाघिसक्यो । हुन त सन २०१४ मा युक्रेनको एउटा भुभाग क्रिमिया रुसले कब्जा गरेदेखि युक्रेनले चैनको स्वास फेर्न सकेको छैन । यतिबेला युक्रेन तहसनहस छ । शहर र औधोगिक क्षेत्र खरानी भइसकेको अवस्था छ ।
मुलुक र जनताले ठुलो पीडा भोगिरहेको युक्रेनी जनताले कुनैदिन पनि राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई गाली गरेका छैनन् । राष्ट्रपति जेलेन्स्की कहिले अमेरिका कहिले युरोपियन यूनियन मुलुकहरुमा सहयोग र समर्थन जुटाउन कुदिरहेका हुन्छन् । तर, युक्रेनी जनताले जर्ज सोरसको गुलाम भनेका छैनन् ।
भखैरै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पदावधि सकिएको छ । प्रधानमन्त्री जस्टिनकै पालामा क्यानाडा निकै कमजोर भयो । बेरोजगार दर १६ प्रतिशतले बृद्धि भयो । देशभित्र अपराध र आतंकका घटना बढे । अमेरिकासँगको सम्बन्ध तिक्ततामा बदलियो । इन्डियासँग झण्डै शीतयुद्ध नै छेडियो ।
यति धेरै असफल प्रधानमन्त्री विरुद्ध कुनै जनताले सामाजिक संजालमा गाली वर्साएका छैनन् । जस्टिन क्यानाडाका एक असफल प्रधानमन्त्री भएको उनकै लिबरल पार्टीले सार्वजनिक गरेर राजीनामा मागेको थियो । तर, पनि अँह जनताले कुनै घृणाजन्य गाली गरेनन् ।
जस्टिनलाई क्यानाडेली नागरिकले धर्म बेचुवा कसैले भनेनन् । जस्टिनकै पालामा पञ्जावीको शक्ति बढेको थियो भने खालिस्तान (इन्डिया टुक्राउने) बनाउनेहरु सक्रिय बनेका थिए । तर, कुनै असली क्यानाडाका नागरिकले विदेशी समुदायलाई प्राथमिकता दिएको दलाल करार गरेनन् । असली क्यानाडाका जनताबाट बिहारी पाराका गाली खाएनन् ।
बेलायतको प्रधानमन्त्री पदमा दुई वर्ष मात्र बसेका ऋषि सुनकले अर्थतन्ध ध्वस्त बनाएको आरोप छ । सन २०२२ देखि ०२४ सम्मको प्रधानमन्त्रीकालमा आर्थिक बृद्धिदर निरन्तर ओरालो, बेरोजगार दर उकालो, कमजोर कुटनैतिक सम्बन्ध आदि कारणले ऋषि सुनकले पदावधि अगावै पद छोड्नुपरेको थियो । तर, पनि कुनै बेलायती नागरिकले सुनकलाई सामाजिक संजालमा ट्रोल बनाएनन् । आदित्यनाथ शैलीका गाली सुनकमाथि खनिएनन् । किनकी, यो शताब्दीमा गोरा समुदाय निकै शान्त छन् ।
पछिल्लो एक दशकभित्र जापान आर्थिक रुपमा कमजोर श्रेणीमा प्रवेश गरिसकेको छ । चीनमा पनि शतप्रतिशत जनता सुखी छैनन् । एक तथ्यांकलाई हेर्ने हो भने चीनको २२ प्रतिशत जनशक्ति रोजगारका लागि बाहिर जाने गर्छ ।
युरोपेली मुलुकहरु आजभन्दा डेढ दशकअघि जस्तो आर्थिक सम्पन्न छैनन् । झन कोविड–१९ पछि त धेरै देशको आर्थिक अवस्था कमजोर बनेको छ ।
यी सबै देशमा पनि जनतामा असन्तोष बढ्दो छ । बेरोजगार र विपन्नताले घेरेको छ । प्रतिव्यक्ति आय खुम्चिएको अवस्था छ । त्यसका बाबजुद पनि कुनै नेताहरुको समाचारमा नानाथरि कमेन्ट गर्न त्यहाँका नागरिकले जानेका छैनन् । बरु पछिल्लो पटक दक्षिण एसियाका नागरिक ती विकसित मुलुकमा जहाँ बसे, त्यहाँ भने हैरानीको सुरुवात भएको देखिन्छ ।
कहाँ छ गाली ? गालीको मुख्य भण्डार नै दक्षिण एसिया हो । यसको राजधानी इन्डिया हो । पाठकहरुले त्यसका लागि जान्न, हेर्न र बुझ्न माथि उल्लेखित मुलुकहरुका समाचार पोर्टलका कमेन्टमा गएर आफै जाँच गर्न सक्नुहुनेछ । ती देशहरुका नेताहरुका सामाजिक संजाल अवलोकन गर्न सक्नुहुनेछ । पंक्तिकारले कुनै अनुसन्धान गरेर लेखेको होइन । सामान्य रुपमा पढेरै यी विषय उजागर गरेको हुँ ।
फेरि लागौँ, दक्षिण एसिया । जब शेख हसिनाले बंगलादेश छोडिनन्, तब बंगलादेशी नागरिकले निरन्तर गाली गरिरहे ।
जब मोहम्मद यूनुस राजनीतिबाट टाढा थिए, तब उनको देवत्वकरण खुब गरियो । तिनै तारिफ गर्नेले यूनुसलाई ल्याएर सरकार (सल्लाहकार) प्रमुख बनाए, उनैहरुले अहिले बेस्मरी यूनुसलाई गाली गरिरहेका छन् । बंगलादेश अहिलेसम्म अतिसंकटमा फँसिसकेको छ ।
पाकिस्तानमा राजनीति अझै स्थिर छैन । तन्नेरी पुस्ताका नेता इमरान खान जेलमा छन् । इन्डियामा सामाजिक सहिष्णुता खुम्चिएको छ । विश्व प्रक्षेपण गर्ने विभिन्न संस्थाहरुले खुशी, सहिष्णुता, शान्त, सुरक्षा र लैगिंक समानतामा इन्डियालाई दक्षिण एसियाका अन्य देशहरु भन्दा पछि राखेको छ । खुशीकै श्रेणीमा इन्डिया पाकिस्तानभन्दा धेरै पछि छ ।
दक्षिण एसियामा सबैभन्दा ठुलो भुभाग, धेरै जनसंख्या र अर्थतन्त्रमा शक्तिशाली भएकोले इन्डियाको प्रभाव अन्य देशहरुमा सजिलै पर्छ । त्यसैले इन्डियामा पार्ने प्रभाव वरपरका देशहरुमा सजिलै पर्ने भएकोले अशान्त, असहिष्णु, भेदभाव, धार्मिक रुढ, पछ्यौटेपन,गाली गर्ने चलन आदि उत्पादनहरुको केन्द्रविन्दु पनि इन्डिया नै बनेको छ ।
पाठकहरुले त्यसका लागि इन्डिया, जापान, चीन, स्वीटजरल्याण्डका कुनै नेताहरुको सामाजिक संजाल र त्यहाँका मिडियाका कमेन्ट गएर आफै तुलना गर्न सक्नुहुनेछ । त्यसैले यो आरोप होइन, यथार्थ हो । कहाँ कति सभ्य संस्कार रहेछ, सजिलै जान्न सकिन्छ ।
नेपालमा पुरानो राजनीति तन्त्रका तन्तुहरु सल्बलाउन थालेका छन् । नयाँहरु जुरुक्क उचालिएका छन् । ००७ देखि ०४७ सालमा उदाएका दलहरु रक्षात्मक जस्तो देखिएका छन् । पुराना राजनीति शक्ति र नयाँ दलहरुको गठजोडमा आधुनिककालका कांग्रेस कम्युनिष्टतिर गालीको आँधी छ ।
जनताबाट गाली आउने क्रम अहिले सुरु भएको होइन । सामाजिक संजालमा गाली गर्नेहरुमा ०६५ सालदेखि ०७२ सालसम्म माओवादी अगाडी थिए । त्यतिबेला प्रचण्डलाई कसैले गाली गर्न सक्दैनथे । माओवादी कार्यकर्ता जाइलागिहाल्थे र तेब्बर गाली गरेर जान्थे । ०७२ सालको भुकम्पले होकि के हो, त्यसपछि माओवादी गाली गर्नमा पछि पर्यो र एमालेले एकाएक उछिन्यो ।
कसैले ओलीको तीनवटा सरकारले चौपट भ्रष्टाचार गर्यो, बिचौलिया पाल्यो र महंगी बढायो भन्यो भने एमालेका साइबर सेना आक्रमण गर्न आइहाल्थे र अहिले पनि जारी छ । एमाले अरुको आलोचना सहन नसक्ने पार्टी हो र उसले गाली गर्ने विभाग नै बनाएको छ, जुन साइबर सेना हो ।
अहिले देउवा, प्रचण्ड, माधव नेपाल वा अन्य नेताहरुलाई जति नै आलोचना गाली गरेपनि यिनका कार्यकर्ता खासै चासो दिंदैनन् । ओलीको भने अवस्था अलि भिन्न छ । एमाले कार्यकर्ता प्रतिकार गाली गर्न सिपालु छन् ।
अहिले गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरबीचमा घनघोर गालीको प्रतिश्पर्धा चलेको छ । तर, आक्रमक रुपमा बढी पूर्वराजा पक्षधर अघि देखिन्छन् । पछिल्ला केही दिनदेखि गालीका बाछिटा बालेन साहतिर पनि पुगेका छन् ।
नेपालले चर्को बोल्ने मात्र होइन, धेरै गाली गर्न सक्ने व्यक्ति नेता बन्न सक्छ भन्ने नजिर बसाइदिएको छ । हाल सरकारमा भएका, संसदमा देखिएका र अन्य चर्चित केही अनुहारहरुले गाली गरेरै राजनीतिको उचाई प्राप्त गर्न सफल भएका थिए ।
यसैले त, अहिलेको नयाँ पुस्ताले नयाँ नयाँ ढंगले नयाँ नयाँ गालीहरु सिकिरहेको छ । हरेक पार्टीमा नयाँ पुस्ता हावी छ । कुनैमा धेरै त कुनैमा थोरै !