समाचार टिप्पणी–
काठमाडौँ । सारा जनताले भने,‘चार महिना मात्र बाँकी छ, कुलमान घिसिङलाई नचलाउ ।’ तर सरकार छट्पटिएर कुलमानलाई हटाएरै छोड्यो । अनि जन्माइदियो, सामाजिक विखण्डन ।
स्थानीय जनप्रतिनिधिले अपेक्षा गरिरहे,‘दलीय दबाब नदेउ, कर्मचारी नियुक्ति र सरुवामा स्वायत्त अधिकार प्रदान गर ।’ तर, सरकार पार्टी स्वार्थ भन्दा माथि उठ्न सकेन र काठमाडौँ महानगरमा उही मुद्दामामिला झेलिरहेका सरोज गुरागाईंलाई नै जर्बजस्ती पठाइदियो । अनि मच्चाइदियो राजनीति रडाको ।
लाखौँ पीडित नागरिकले भने,‘सहकारीबाट हामीलाई रकम फिर्ता देउ ।’ तर, सरकार भने गैरजिम्मेवार बन्यो, रवि लामिछाने पक्राउ गर्ने बाहेक अरु केही देखेन । अनि सुरु भयो सामाजिक विद्रोह ।
वर्तमान सत्तालाई किन जनतामा लोकप्रिय भएका व्यक्ति मनपर्देन र खतम गर्न चाहन्छ ? यो प्रश्न अहिले चौतर्फी उठेको छ । लोडसेडिङ हटाएर संस्थानमा गज्जबको प्रणाली बसाएका कुलमान, शहरको सौन्दर्यकरणमा अग्रसर भएका बालेन शाह र कानुनलाई मनैदेखि सहयोग गरिरहेका रवि यी तिनैजनासँग सरकार किन तर्सिरहेको छ ?
यस्ता कयौैं पात्र होलान, जो ओझेलमा परेका छन् र वर्तमान शासकबाट पेलिएका छन् । अहिले एमाले नेतृत्वको केपी शर्मा ओली सरकार छ । ओलीका अघिल्ला दुई कार्यकाल महंगी बढाएर र विचौलिया हुर्काएरै सकिएको थियो । अहिले त्यही फल फलिरहेछ । ओलीदेखि ओली प्रधानमन्त्रीकाल नै नेपालमा महंगी बढ्ने ऐतिहासिक रेकर्डको कालखण्ड बन्यो । अन्य प्रधानमन्त्रीको कार्यकालमा तुलनात्मक रुपमा महंगी बढेको छैन ।
०७२ सालपछिका विभिन्न तथ्यांक केलाउने हो भने एउटा गतिलो उद्योग थपिएको रेकर्ड छैन । एउटा उद्योग, पसल, होटल, कलकारखाना, फर्म खोल्न फाइल बोक्दै वर्षौैं वित्छ । कानुनी झन्झट, कर्मचारीको लफडा र विचौलियाको दबाब थाम्न नसक्ने अवस्था छ ।
कृषि उत्पादनले सहज बजार पाएको छैन । कृषिमा लागेका कर्मजीवीलाई सरकारले कुनै सहुलियत दिंदैन । दिइहाले पनि विचौलियाको तगारो तेर्साइदिन्छ । सरकारी कलेजमा भर्नादेखि होस्टलमा बस्न सरकार निकटका भातृसंगठनको चाकडी गर्नुपर्छ । राजनीतिक सिण्डिकेट बाहेक केही छैन ।
देशमा उत्पादन शून्य छ । निर्यात घट्दो र आयात बढ्दो छ । परनिर्भर वा इन्डियाको भरबाट नेपालीको जीवन बाँचिरहेछ । स्वावलम्वन र स्वनिर्भरका कुनै कार्यक्रम छैनन् । युवाहरु काम खोज्दै विदेश जाने बाहेक अर्को विकल्प छैन ।
प्रधानमन्त्री, मन्त्री र कर्मचारी सरकारी पैसा उडाउँदै विदेश जान्छन् । सम्मेलन र कार्यक्रममा सहभागी हुन्छन् । तर, एउटा गतिलो अभ्यास सिकेर आउँदैनन् । यस्ता निरर्थक भ्रमणले देश टाट पल्टिसकेको अवस्था छ ।
तेस्रो मुलुकका पर्यटन आउन नसक्ने वातावरण बनिरहेको छ । १० वर्षअघिसम्म पोखरा लगायतका पर्यटन क्षेत्रमा जताततै देखिने गोरा पर्यटक अहिले देखिन छोडे । पर्यटक मात्र होइन, तेस्रो मुलुकको लगानी वातावरण धमिलिएको छ ।
अहिले ठुला विकसित मुलुकको लगानी शून्य जस्तै छ । यतिधेरै हरिबिजोग अवस्थामा छ नेपाल । तर, ओली सरकार आफ्नै देशभित्रका गतिला नागरिकसँग प्रतिशोध साँध्ने र सिध्याउने बाहेक केही खेल खेल्दैन !
सरकार रेमिटयान्सबाट पालिएको छ । विदेशमा बस्नेले कमाएको पैसा र सामान ल्याउन सरकारका अनेर्कौं बाधा झेल्नुपर्छ । विश्वका कुनै देश छैनन्, जहाँ विदेशबाट आफ्नो देशमा सामान ल्याउन आफ्नै देशको कानुन बाधक होस । अवस्था यस्तो छ !
महंगीको कुरै नगरौं । खाद्यान्नदेखि निर्माण सामग्रीसम्म, दलहन वस्तुदेखि दैनिक चाहिने सामानसम्म दोब्बर,तेब्बर, चौगुनाले भाउ बढेको छ ।
सरकारी अस्पतालमा गतिलो उपचार व्यवस्था छैन । प्रत्येक सरकारी अस्पतालहरु दलीय ठेक्काले समस्याग्रस्त छन् । स्कुलदेखि विश्वविद्यालयसम्म दलीय भागवण्डाले खण्डहर भएका छन् ।
ठुला विकासका परियोजनामा निर्माण कार्य ठप्प छन् । कुनै राजमार्गमा यात्रा गर्न सकिने अवस्था छैन । यो अवधि यति लामो भएको छ कि भत्कायो अनि असरल्ल छोडिदियो । नागरिकको गुनासो कतै सुनुवाई हुँदैन । किनकी, दलीय सिन्डिकेट छ ।
एमालेको प्रतिशोधको राजनीतिले सामाजिक संजालमा साइबर सेना गठन गरेर अराजक समुह तयार गरिदियो । सामाजिक संजाल घृणाजन्य सामग्री पोष्ट गर्ने, टिप्पणी गर्ने र जथाभावी गर्ने प्रचलनको सुरुवात एमालेले गरिदियो । अन्य कुनै दलहरु यस्तो घृणित काम गरेनन् । एमाले नै किन यो समाजमा भाँडभैलो गर्न चाहन्छ ? किन एमाले बदलाको राजनीति गर्न चाहन्छ ? एमालेले किन सधैं प्रतिशोध साँध्छ ?
शासकसँगको घृणा र असन्तोष फैलिएर व्यवस्था विरुद्ध आवाज उठ्न थालेको छ । यही बेला पुनरुत्थानवादीहरु सल्बलाइरहेका छन् । चैत १५ गतेको बिध्वंस यसैको नतिजा थियो । धर्म र सम्प्रदायमा फाटो ल्याउने तत्व सल्बलाइसकेका छन् ।
यही मौका छोपेर दक्षिणतिरबाट धर्म र तन्त्रका नाममा नेपाल भित्र दुषित हावा फैलाइएको छ । सरकारसँग चेत छैन । होसमा छैन सरकार । सरकारले केवल जानेको छ, गतिलो काम गर्नेलाई लखेट्ने, खेद्ने, थुन्ने र निरुत्साहित बनाउने !
यस्तो कुकर्मको सुरुवात ओलीदेखि ओली कार्यकालसम्म मात्र चर्को छ ! आखिर किन एमाले यो देशलाई बर्बाद बनाउन चाहन्छ ?