काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज सोमबार रुपन्देही जिल्ला कारागार चलान भएका छन् ।
अदालतको आदेश अनुसार, सहकारी ठगी, सम्पत्ति शुद्धीकरण लगायतका आर्थिक मुद्दाहरुको कसुरमा लामिछाने जेल चलान भएका हुन् ।
शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।
पूर्वगृहमन्त्री समेत भइसकेका लामिछाने कहिलेसम्म जेलमा बस्नुपर्ने हो, कुनै ग्यारेन्टी छैन ।
सरकारी विदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई थुनुवा पुर्जी दिई कारागार लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए । अब अदालतको फैसला नआउन्जेल उनी सोही जेलमा रहने छन् ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण लगायतका आर्थिक मुद्दाहरुको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।
जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ ।
धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्था लगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा जेलमै रहने जानकारी दिए ।
भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।
लामिछाने विरुद्ध यस्तै प्रकृतिका मुद्दा कास्की, काठमाडौँ, वीरगंज र चितवनमा समेत रहेका छन् ।
सम्पत्ति शुद्धीकरणको मुद्दा लागिसकेपछि पुनः राजनीतिमा फर्केको नेपालमा अहिलेसम्म उदाहरण छैन ।
रास्वपाले सभापति लामिछाने पक्राउ प्रकरण र सजायप्रति विरोध जनाउँदै आएको छ ।
तर, आफ्नै सभापति पक्राउ पर्दा र राज्यको प्रतिशोध जस्तो देखिंदा रास्वपाले फितलो रुपमा मात्र विरोध जनाउनुले रास्वपाका शुभचिन्तकहरुलाई शंका जन्माएको छ ।
रास्वपा सिंगो पार्टी किन कडा रुपमा सरकार विरुद्ध जान सकेन, धेरैको मनमा प्रश्न उब्जेको छ ।