काठमाडौँ । यही चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनमा सहभागी भएपछि अभिनेत्री एनी कुँवरलाई प्रहरीले आज सोमबार पक्राउ गरेको छ ।
कुँवरको प्रत्यक्ष उपस्थिति पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री सहित टेलिभिजनकर्मी समेत हुन् ।
घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा एनीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई हिरासतमा राखेर घटनाको वास्तविकता के हो अनुसन्धान थालिने प्रहरीले बताएको छ । एनीले एक दशकअघि फिल्म ब्रह्माबाट नेपाली फिल्मी क्षेत्रको यात्रा सुरु गरेकी थिइन् ।
फिल्मसँगै उनी टेलिभिजनमा कला सम्बन्धी मनोरञ्जन कार्यक्रम संचालन गर्थिन् ।
पछिल्ला वर्षमा अभिनेत्री एनी राजदरबारका व्यक्तिसँग मुछिएका समाचारहरु बाहिर आएपछि उनी विवादमुक्त रहन सकिनन् ।
तीनकुने घटनामा त्यो दिन घनघोर जोखिम मोलेर एनी किन, कसरी र के कारणले उक्त भवन भित्र प्रवेश गरिन् भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
उक्त घटनामा दुईजनाको मृत्यु, सर्वसाधारणका घरहरु तोडफोड, सरकारी सम्पत्तिमा आगजनी, लुटपाट र कुटपिट भएको थियो ।
प्रहरी प्रवक्ता दिनेश आचार्यले घटनामा संलग्नहरु जहाँ भएपनि फेला नपरेसम्म खोजेर पक्राउ गरेर कारवाही गरिने जानकारी दिए । अहिले भागेर केही दिन बस्लान्, तर, एकदिन प्रहरीले कुनै हालतमा पक्राउ गर्छ,उनले भने,‘अपराध, लुट र आगजनीमा क्षमा हुँदैन ।’