काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ ।
प्रर्दशनमा सबैलाई सहभागी हुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आह्वान गरेका छन् ।
बिहानै सामाजिक संजालमा लिङ्देनले भनेका छन्,‘प्रियजन तपाईँहरूमध्ये कतिलाई दलीय बन्धनले अलि असजिलो लाग्न सक्छ, हाम्रो कुरा अनौठो लाग्न सक्छ। तर राप्रपाले उठाएको मुद्दा कुनै एउटा पार्टीको मुद्दा मात्र होइन देश बचाउने र बनाउने हामी नेपालीको साझा मुद्दा हो। एैक्यबद्धता व्यक्त गर्न आज बल्खु आउनुहोस् है !’
राप्रपाले आज काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ
राप्रपाको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।
राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।
सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ ।
सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने छ ।
यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।
१५ चैतमा पूर्वराजा पक्षधरको तर्फबाट अराजक तथा विवादित व्यक्ति दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो ।
जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । प्रदर्शनकारीले कोटेश्वरदेखि तीनकुनेसम्मका सामान्य नागरिकका घरघरमा ढुंगा प्रहार गरेका थिए । लुटपाट, आगजनी, तोडफोड गर्नेमा केही इन्डियन (बिहार, उत्तर प्रदेश) सहित नेपालीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।