काठमाडौँ । विभिन्न आपराधिक घटनामा संलग्न चरम विवादास्पद व्यक्ति दुर्गा प्रसाईं पक्राउका समाचार बारेमा नेपाल प्रहरीले खण्डन गरेको छ ।
प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, दुर्गा प्रसाईं हालसम्म पक्राउ परेका छैनन् । विज्ञप्तिमा भनिएको छ,‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं हालसम्म पक्राउ नपरेकोले भ्रामक समाचार प्रकाशन प्रशारण नगर्न अनुरोध गर्दछौँ ।’
दुर्गा प्रसाईं विभिन्न आपराधिक घटनामा संलग्न रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

धर्म, जात, सम्प्रदाय, वर्ग र उचनीचका नाममा नेपालको सामाजिक सद्भाव खल्बल्याउन प्रसाईं उपयोग भइरहेको प्रहरीले प्रमाण फेला पारेको छ ।
तीनकुनेको हिंसात्मक प्रदर्शनमा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।
त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट अनेक अन्टसन्ट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
यसअघि विभिन्न आपराधिक मुद्दामा दुई पटक पक्राउ परिसकेका प्रसाईं नेपालमा हिंसालाई प्रोत्साहन गर्न विपन्न वर्गलाई उचाल्ने एक चरम विवादित व्यक्ति हुन् ।