काठमाडौँ । शिक्षकहरूले नयाँँ वर्षमा नयाँ अनुभुति गर्न पाएनन् । किनकी उनीहरुले ०८१ सालकै मुद्दा लिएर ०८२ सालमा प्रवेश गरे त्यो पनि सडकमै ।
नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८२ सडकमै मनाउने बताएपछि आज बैशाख १ गते राजधानीको नयाँवानेश्वरको सडकभरि शिक्षकहरु प्रदर्शनमा रहे ।
जिल्लाबाट आएका कयौ शिक्षकहरु बेखर्ची भइसकेका छन् । कति एमाले निकटका शिक्षकहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अति गैरजिम्मेवार व्यक्ति रहेका बताएका छन् ।
एमालेका अधिकांश शिक्षकहरु ओलीप्रति रुष्ट बनेका छन् । अब जिल्लामा फर्केपछि म कहिल्यै एमाले बन्ने छैन, नाम नलेखिदिन आग्रह गर्दै एक शिक्षकले भने,‘एमालेलाई म र मेरो परिवारले कहिल्यै भोट दिने छैनन् ।’ एमाले बनेर जीवनमा ठुलो भुल गरिएको ती शिक्षकले बताए ।
अन्य पार्टीका निकट शिक्षकहरु पनि ओली र शिक्षा मन्त्रीप्रति आक्रोशित देखिन्छन् । सबैको एउटै मत छ, वर्तमान सरकार जस्तो नालायक कहिल्यै व्यहोरिएन ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाएका हुन् ।
‘यसपालि नयाँ वर्ष हामी सडकमा नै मनायौं । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं,’ शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।
शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । सोमबार प्रदर्शनको १३औं दिन हो ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । सरकारले समाधान निकाल्ने प्रयास नगरेको शिक्षकहरुको आरोप छ । शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेर संसद्को आगामी अधिवेशनबाट ऐन जारी जारी गर्ने भनेर सरकार पन्छिने गरेको छ ।
विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजिरहेका छन् । ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ ।
सरकार र शिक्षकबीच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
सम्पूर्ण शिक्षकहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको चर्को आलोचना गरिरहेका छन् ।
आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलमा सुरु भएको थियो । एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हडताल गरी आन्दोलनलाई थप तीव्रता दिएका छन् ।
सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको उनीहरूले आरोप लगाएका छन् । संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
गत चैत्र २० गते भन्दाअघि नै विद्यालय तहका सबै प्रकारका वार्षिक परीक्षा सकिएकाले पठनपाठनमा असर नपुगे पनि भोलि (वैशाख २ गते) देखि नयाँ शैक्षिक वर्ष सुरु हुने भएकाले शैक्षिक हडतालले प्रत्यक्ष असर गर्ने देखिएको छ ।
गत वर्ष पनि यही माग राखेर शिक्षकहरूले आन्दोलन गरेका थिए । आन्दोलनपश्चात् २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमति भएको थियो । तर सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयन गर्न सरकारले कुनै संकेत नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
तर यसपालिको सरकार पुरै गैरजिम्मेवार भएकोले सम्पूर्ण नागरिक आजित भएका छन् ।
प्रधानमन्त्री ओलीले सडकमा प्रदर्शन नदेख्नु बिडम्वना रहेको शिक्षकहरुको मत रहेको छ । अधिकांश शिक्षकहरुको प्रधानमन्त्री ओलीप्रति विश्वास टुटेको बुझ्न सकिन्छ ।
अहिले प्रधानमन्त्री र शिक्षा मन्त्री दुबै एमालेका रहेका छन् । प्रधानमन्त्री ओली भने विगत केही दिनदेखि राजतन्त्र पक्षधरहरुलाई गाली गर्न विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
केही दिनदेखि परेको पानीले राजधानीका सडकमा शिक्षकको बिचल्ली निकै कष्टदायी रहेको छ । जिल्लाबाट आएका धेरै शिक्षकहरुले खर्च सिद्धिएको र अब बिचल्लीमा परिएको गुनासो गरिरहेका छन् ।