काठमाडौँ । इन्डियाको हरियाणा राज्यस्थित गुरुग्राममा एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार (बलत्कार) भएको छ । इन्डियाकै निकै चर्चित अस्पतालमा गनिने ‘मेदान्ता’मा उक्त घटना भएको हो ।
इन्डियन सञ्चारमाध्यमअनुसार अस्पतालकै कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार (बलत्कार) गरेका हुन् । सार्वजनिक भएको घटना विवरण अनुसार एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् ।
त्यसपछि उद्धार गरी उनलाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । ५ अप्रिलका दिन उनी सो अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा थिइन् । सोही क्रममा अस्पतालका एक पुरुष कर्मचारी उनको हातमा ‘ब्यान्ड’को साइज नाप्ने बहानामा आएर यौन दुर्व्यवहार गरेको बताइएको छ ।
मुखमा नली लगाइएका कारण पीडित महिला बोल्न नसके पनि टाउको हल्लाएर प्रतिवाद गर्न खोजेपछि ती कर्मचारी भागेको पीडित पक्षको भनाइ छ । आईसीयूमा दुई जना नर्स रहे पनि उनीहरूले बेवास्ता गरेको पीडित महिलाले जनाएकी छन् ।
उपचारपछि निको भएर ती महिला आफू बसेको रुममा फर्किइन् र पतिलाई उक्त घटनाबारे बताइन् । दम्पतीकै सहमतिमा उक्त घटनाबारे प्रहरीमा उजुरी गरिएको छ ।
त्यसलगत्तै प्रहरीले पीडितको मेडिकल टेस्ट गराउनका साथै मंगलबार सरकारी वकिलको कार्यालयमा बयानसमेत गराएको छ । प्रहरीले अस्पतालको सीसीटीभी फुटेज निकालेर अनुसन्धान थालेको छ ।
अस्पताल प्रशासनले घटनाको अनुसन्धानमा प्रहरीलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा घटना भएको भनिएको समयको सीसीटीभी फुटेज र विभिन्न दस्तावेज प्रहरीलाई उपलब्ध गराइएको उल्लेख छ ।
इन्डियामा सन २०१४ देखि हालसम्म ६४ प्रतिशत गुणाले बलत्कारका घटनामा बृद्धि भएको छ ।
इन्डियन नेशनल क्राइम रेकर्ड ब्यूरो (एनसिआरबी) का अनुसार, सन २०१२ मा २५००० त्यसपछि बढेर सन २०१६ मा ३९००० हजार ठुला बलत्कारका घटना बाहिर आएका थिए । रेकर्ड अनुसार, इन्डियामा हरेक १५ मिनेटमा खतरनाक बलत्कारका घटना हुने गर्छ ।
लाखौं घटनाहरु घरपरिवार, समाज, धर्म, रीतिरिवाज, करकाप, डर, धम्की र विकृतिजन्य संस्कृतिका नाममा हुने डरले बाहिर आउँदैनन् ।
एनसिआरबीको तथ्यांक अनुसार, इन्डियामा सबैभन्दा धेरै बलत्कार, महिला हिंसा र सामाजिक भय हुने स्थानमा नेपालसँग जोडिएका उत्तर प्रदेश, बिहार, झारखण्ड र मध्यप्रदेश रहेका छन् ।
महिला र छोरीका लागि पूर्ण असुरक्षित भएपछि पछिल्ला केही दशकदेखि तेस्रो मुलकका महिला पर्यटक इन्डियामा घुम्दैनन् । ब्रिटिशका पालामा बसिरहेका सबै गोरा परिवारहरुले इन्डिया छोडिसकेका छन् ।
स्मरणरहोस, इन्डिया, बंगलादेश र पाकिस्तानमा छोरीहरुका लागि बन्द समाज झन-झन जब्बर बन्दै गएको छ ।
अन्य मुलुकमा झैँ इन्डियामा किशोर उमेरका छोरीहरु एक्लै घर बाहिर निस्कन सक्दैनन् ।
एजेन्सी