काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेश इन्चार्ज तोकेको छ । बिहीबारको केन्द्रीय समितिको बैठकले प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले केन्द्रीय समितिको बैठकको निर्णयबाट प्रदेश इन्चार्ज तोकिएको पार्टीले जनाएको छ।
को–को भए प्रदेश इन्चार्ज ?
१) कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार
२) मधेश प्रदेशको इन्चार्ज मनीष झा
३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी
४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल
५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिनकुमार आचार्य
६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली
७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल

महाधिवेशन फागुनमा सर्यो
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने सर्वसम्मत निर्णय गरेको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ।
कार्यवाहक सभापतिले सचेत गराए
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा अनावश्यक नबोल्न, नलेख्न आग्रह गरेका छन् ।
केन्द्रीय समितिको बैठकमा अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन्।
सामाजिक सञ्जालमा पार्टी समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको पनि कार्यवाहक सभापति अर्यालले बताएका छन्।
त्यस्तो प्रवृत्ति पार्टीकै लागि घातक हुने बताउँदै कार्यवाहक सभापति अर्यालले सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिता अन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध गरेका हुन्।