काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष लिङ्देन लगायत नेताहरू सिंहदरबार भित्रैबाट आइतबार दिउँसो पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले पूर्वपञ्च सहितका राप्रपा नेताहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अध्यक्ष लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल र ज्ञानबहादुर शाही लगायत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले भद्रकाली परिसर लगेको राखेको छ ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देन लगायतले सिंहदबारमै प्रदर्शन गरेका हुन् । राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।
लिङ्देन सहित पक्राउ परेपछि कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले ‘हाम्रा नेता रिहा गर’ लगायतका नारा लगाएका छन् ।
तीनकुने घटनामा अर्का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा गत चैत १५ गते पक्राउ परेका थिए ।
सरकारले गत चैत १५ गतेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर राखेर आज आइतबारको सुरक्षा व्यवस्था चुस्त बनाएको थियो ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र तोड्न खोजे बल प्रयोग हुने चेतावनी समेत दिएको थियो ।
गत चैत १५ गते राजसंस्था पक्षधरको प्रदर्शनमा २ जना निर्दोष नागरिकको मृत्यु, आगजनी, तोडफोड, लुटपाट, कुटपिट र साधारण नागरिकको करोडौँ सम्पतिको नोक्सान भएको थियो ।
ठुलो हिंसात्मक घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नागरिकस्तरबाट विभिन्न प्रश्नहरु उठेका छन् ।