काठमाडौँ । चीन, अमेरिका लगायत मुलुकहरुसँग नजिकिएको बदलामा इन्डियाले बंगलादेशमाथि विभिन्न रोक लगाएपछि बंगलादेशले पनि इन्डियाबाट भूमि बन्दरगाह मार्फत हुने धागो आयातमा प्रतिबन्ध लगाएको छ।
अमेरिकासँग नजिकिएको भन्दै आफूलाई दिइएको ट्रान्ससिपमेन्ट सुविधा फिर्ता लिएको बदलामा बंगलादेश इन्डिया विरुद्ध उत्रिएको हो ।
बंगलादेशको अंग्रेजी पत्रिका द डेली स्टारका अनुसार राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले इन्डियाबाट आउने कच्चा पदार्थबाट स्थानीय कपडा उद्योगलाई जोगाउन बंगलादेशले उक्त निर्णय गरेको हो।
द डेली स्टारका अनुसार, बंगलादेशका कपडा मिल मालिकहरूले यो निर्णयको स्वागत गरेका छन् भने निर्यातकर्ताहरूले विरोध गरेका छन्।
अप्रिल १३ मा जारी सूचनामा राष्ट्रिय राजस्व बोर्डले बेनापोल, भोमारा, बंगलाबान्धा, बारिमरी र सोनामसजिद भूमि बन्दरगाह हुँदै इन्डियाबाट हुने धागो आयातमा प्रतिबन्ध लगाएको जनाइएको छ।
‘यो राम्रो निर्णय होइन’, प्लमी फेसन लिमिटेडका महाप्रबन्धक मोहम्मद फजलुल हकले भने, ‘बंगलादेशले पहिले नै अमेरिकी बजारमा निर्यातमा १० प्रतिशत भन्सार महसुलको सामना गरिरहेको छ। हामी इन्डियन उत्पादनबाट पनि चुनौती सामना गरिरहेका छौँ। यस्तो अवस्थामा इन्डियाबाट धागो आयातमा कुनै पनि प्रतिबन्धले बंगलादेशको निर्यातलाई असर गर्नेछ। हामीलाई इन्डियाबाट धागो आयात गर्न अनुमति दिइनुपर्छ। खुला बजारमा यस्ता प्रतिबन्धहरूको कुनै अर्थ हुँदैन।’
डोनाल्ड ट्रम्पले अमेरिकाको बागडोर सम्हालेदेखि नै विश्वभर व्यापार युद्ध सुरु भएको छ। यसको प्रत्यक्ष असर भारत र बंगलादेशबीच पनि देखिएको हो।
थाइल्यान्डको राजधानी बैंककमा भएको छैटौँ बिमस्टेक शिखर सम्मेलनका क्रममा इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीचको भेटपछि दुई देशबीच सम्बन्ध सुध्रिने अनुमान गरिएको थियो।
तर त्यसको ३ दिनपछि इन्डियन सरकारले २०२० देखि बंगलादेशलाई दिइरहेको ट्रान्ससिपमेन्ट सुविधा फिर्ता लियो। जसका कारण इन्डियन विमानस्थल र बन्दरगाहबाट आफ्ना उत्पादन तेस्रो मुलुकमा निर्यात गर्नबाट बंगलादेश वञ्चित भयो।
इन्डियन सञ्चारमाध्यमका अनुसार हालै चीन भ्रमणका क्रममा बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले इन्डियाको उत्तरपूर्वी क्षेत्रबारे विवादास्पद बयान दिएका थिए।
उनले भनेका थिए, ‘उत्तरपूर्वी इन्डिया पूर्ण रूपमा जमिनले घेरिएको छ र बंगलादेश यस सम्पूर्ण क्षेत्रका लागि एक मात्र सामुद्रिक ढोका हो।’
उनले यो क्षेत्र चीनको अर्थतन्त्रको विस्तार बन्न सक्नेसमेत बताएका थिए। इन्डियाले यो कुरालाई गम्भीरतापूर्वक लिँदै तुरुन्तै बंगलादेशको ट्रान्जिट सुविधामा प्रतिबन्ध लगाएको हो।
तर यसले बंगलादेशबाट इन्डिया हुँदै नेपाल वा भुटानसँग हुने निर्यातमा असर नपर्ने इन्डियन विदेश मन्त्रालयले त्यही बेला बताइसकेको छ।
सन २०१४ मा इन्डियामा मोदी सरकार बनेपछि दक्षिण एसियामा इन्डिया विरुद्ध लहर सुरु भएको थियो ।
दक्षिण एसियाका माल्दिभ्स, श्रीलंका र बंगलादेशसँग सन २०२२ देखि मोदी सरकारको राम्रो सम्बन्ध हुन सकेन । अहिले सबैजसो देशहरु इन्डियाको सहयोग, ऋण र अनुदानबाट टाढा गइसकेका छन् ।
मोदी सरकारले धर्मको राजनीति गरेर दक्षिण एसिया क्षेत्रमा अशान्त फैलाउन खोजेको भन्दै विभिन्न देशका निकायहरुले प्रतिबन्धको माग गर्दै आएका छन् ।
एजेन्सी