काठमाडौँ । विश्वका उच्च धार्मिक गुरु पोप फ्रान्सिसको मृत्युको घोषणा भएपछि कार्डिनल केभिन फारेलले भ्याटिकनको कार्यवाहक प्रमुखको कार्यभार सम्हालेका छन्।
फारेलले पोप फ्रान्सिसको स्मृति कार्यक्रममा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
पोप फ्रान्सिसको सोमबार मृत्यु भएको थियो ।
कार्डिनल केभिन फारेलको जन्म सन् १९४७ मा आयरल्यान्डको राजधानी डब्लिनमा भएको थियो।
उनले स्पेनको सलामान्का विश्वविद्यालय र रोमको पोन्टिफिकल ग्रेगोरियन विश्वविद्यालयमा अध्ययन गरेका छन्।
उनले संसारका धेरै स्थानका चर्चमा सेवा गरेका छन्।
७७ वर्षीय फारेलले ३० वर्षभन्दा बढी समयदेखि अमेरिकाभरका चर्चमा सेवा गरिरहेका छन्।
२००७ मा फारेललाई डलासको बिशप नियुक्त गरिएको थियो।
२०१६ मा पोप फ्रान्सिसले उनलाई भ्याटिकनको नयाँ विभागको प्रमुख बनाए र कार्डिनलको दर्जा पनि दिएका थिए।
विश्व शान्ति, प्रेम र सद्भावका प्रतिक पोपको मृत्युले विश्वभर शोक मनाइरहेका छन् ।
युरोप, अमेरिका, एसिया, अफ्रिका लगायत सबै मुलुकमा शोक मनाइएको छ । नेपालको छिमेकी मुलुक इन्डियाले तीनदिन राष्ट्रिय शोक घोषणा गरेर पोपप्रति श्रद्धासुमन व्यक्त गरेको छ ।
चीन, भियतनाम, थाइल्याण्ड लगायतले एकसातासम्म शोक मनाउने घोषणा गरेका छन् ।
एजेन्सी