काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बिहीबारका लागि राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।
जम्मु–कश्मीरको पहलगाममा भएको घटनापछि बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक बसी पाकिस्तानविरुद्ध विभिन्न निर्णय गरेको छ।
जवाफमा पाकिस्तानका प्रधानमन्त्रीले पनि बैठक राख्न लागेका हुन्।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेका छन्, ‘प्रधानमन्त्री शाहबाज शरिफले बुधबार साँझ इन्डिया सरकारले जारी गरेको विज्ञप्तिको जवाफ दिन बिहीबार लागि राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन्।’
मंगलबार जम्मु–कश्मीरको पहलगाममा घटना हुँदा एक नेपालीसमेत २८ जना मारिएको इन्डियाका सञ्चारमाध्यमले जनाएका छन्।
यस आक्रमणलाई ध्यानमा राख्दै बुधबार साँझ बसेको इन्डियन सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा बन्द गर्नेलगायत निर्णय गरेको छ।
बैठकले सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिइको छ।
यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र इन्डिया छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि इन्डियाले गरेको छ।
मोदीको निवासमा भएको बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहितका अधिकारीहरू सहभागी थिए।
इन्डियाले यही प्रतिबन्धको घोषणा गरेपछि पाकिस्तान पनि गंभीर बनेको छ । जम्मु–कश्मीर घटनालाई लिएर यतिबेला इन्डिया र पाकिस्तान एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
विश्व समुदायले भने यो घटनालाई यतिबेला तीव्र निन्दा गरेको छ । जम्मु–कश्मीर पहलगाममा भएको आक्रमणमा इन्डिया र नेपालका धार्मालम्बीहरु मारिएपछि विभिन्न देशहरुले निन्दा गरेका छन् ।
नेपालले पनि कश्मीर घटनाको निन्दा गरेको छ ।
कश्मीर क्षेत्रमा तनाव उत्पन्न भएको पाँच दशक भन्दा बढी भइसकेको छ । यो क्षेत्रलाई पाकिस्तानले पनि आफ्नो भनेर दाबी गरिरहेको छ भने पृथकतावादीहरुको पनि अर्को विद्रोह लामो समयदेखि चलिरहेको छ ।
हाल इन्डियाको अधिनमा रहेका जम्मु कश्मीरमा दर्जनौँ पटक आतंकवाद हमला र धार्मिक आतंकहरु सृजना हुँदै आएका छन् ।
यी दुई ठुला देशको टकरावका कारण दक्षिण एसिया यतिबेला अशान्त रहेको छ ।
एजेन्सी