काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज बिहीबार राजधानीमा युवाहरु बोलाएर प्रदर्शन गरेको छ ।
एमालेले यो प्रदर्शनलाई ४० वर्ष भन्दामुनि उमेर समुहका युवायुवती सहभागी (युथ सेलिब्रेसन) उत्सव भनेको छ । सरकार चलाउने दलले नै सडकमा प्रर्दशन गर्ने परम्परा संसारमा बिरलै हुने घटनाक्रम हुन् । एमाले अहिले नेपाल सरकारको नेतृत्वमा छ ।
हुन त एमालेले यसलाई लोकतन्त्र दिवसका रुपमा मनाइएको परिभाषा गरेको छ । तर, मुलुकको तरल र संकट अवस्थालाई मध्यनजर राख्दा अहिले उत्सव मनाउने बेलै नभएको राजनीतिक जानकारहरु बताउँछन् ।
राजधानी भृकुटीमण्डप सडकमा भएको प्रदर्शनमा देशभरबाट एमालेले युवायुवती उतारेको थियो ।
एमाले प्रचार विभागका अनुसार, सबै जिल्लाबाट प्रतिनिधिहरु, भातृसंगठनका सदस्यहरु र साधारण सदस्यहरुलाई एमालेले प्रदर्शनमा सहभागी हुन अनुरोध गरेको थियो । एमालेले योजना गरे अनुसार, आजको प्रदर्शनमा न्यून सहभागी थिए ।
एमालेले १ लाख युथहरु सडकमा उतार्ने घोषणा गरेको थियो । भृकृटीमण्डप सडकको क्षमता अधिकतम करीब–करीब २५ हजार मानिसहरु भन्दा बढी अट्न नसक्ने काठमाडौँ महानगर नक्सा विभाग र उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत वर्ष नै जानकारी गराएका थिए ।
एमालेका युथहरुको सभामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबैजसो शिर्ष नेताहरु सहभागी रहेका थिए । ओलीले सधैं झैं एमाले बाहेक सबै दलहरु, व्यक्ति र समुहलाई निकै गाली गरेका थिए ।
एमालेको यो प्रदर्शनलाई जनतामा छाएको नैराश्यता, सरकारप्रति नागरिकको आक्रोश र सबैतिर बेथितीका कारण अहिले उत्सव मनाउने उपयुक्त बेला नभएको नागरिकतहमा टिप्पणी उठेको छ । सत्तारुढ दल एमालेको प्रदर्शनलाई पञ्चायत ढल्नेबेलामा सरकारले आह्वान गरेका पञ्च र्यालीहरु बिर्साउने झल्को दिएको कतिपयको विश्लेषण रहेको छ ।
यसै सन्दर्भमा सामाजिक संजालमा नागरिकतहबाट चर्को आलोचना भएको छ । सत्तारुढ दल नेकपा एमाले, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल एमालेका गतिविधिप्रति झन आलोचनाले तिव्रता पाएको छ । प्रदर्शनसँग सम्बन्धित समाचार, तस्बिर, गतिविधि र एमाले नेताका पोष्टहरुमा व्यापक आलोचनाका प्रतिक्रिया छरपष्ट रहेका छन् ।
आजको एमालेको प्रदर्शनलाई राजनीतिकका जानकारहरुले अस्वभाविक शैली भनेर टिप्पणी गरेका छन् ।
‘सायद एमालेले लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध देखाउन प्रदर्शन गरेको होला, यो सकारात्मक पक्ष भएपनि विद्यमान समस्यामा जिम्मेवार नहुँदा नागरिकमा यो प्रदर्शनले कुनै आर्कषण गर्दैन, राजनीतिक विश्लेषक हरि रोकाले भने,‘पद्धति र व्यवस्थाको सम्मान गर्न सरकारले औपचारिकता कार्यक्रम गर्नुपर्छ, तर सत्ताकै दलले यो तामझाम गर्दा झन नागरिकमा आक्रोश पैदा हुन्छ ।’
२२ दिनदेखि त्यही सडकमा शिक्षकहरु छन्, कर्मचारी आन्दोलन सुरु हुँदैछ, बेथितिले सीमा नाघेको छ, यो पो समाधान गरेर गणतन्त्रलाई बलियो बनाउनुपर्थ्यो, रोकाले राष्ट्रिय समाचार डटकमसँग कुरा गर्दै भने,‘जनतालाई चित्त बुझ्ने काम सरकारले गर्यो भने स्वत गणतन्त्र बलियो हुन्छ, प्रदर्शन गर्न जरुरी छैन ।’
अहिले सबैतिरको परिस्थितिले सत्ता चलाएकै दल सडकमा आउन आवस्यक नभएको रोकाले बताए । एमालेको यो प्रदर्शन उत्सवले झन व्यवस्थाप्रति वितृष्णा फैलिन सक्छ । किनकी, नागरिकका सवालमा सरकारले काम नगर्ने अनि सरकार र सडक दुबैमा एउटा दलको हुकुमी आवाज जनतालाई असह्य हुन्छ, उनले भने ।
सरकारले पूर्वाग्रह राखेर विभिन्न जिम्मेवारी व्यक्तिको बर्खास्त, अयोग्य व्यक्तिको भर्ति र कुशासनका अनेक नयाँ नयाँ प्रयोग गरेका कारण पनि नागरिकमा उत्सवको कुनै अनुभुति हुनै नसक्ने विश्लेषक रोकाको दाबी छ ।
उनले एमालेको यो हर्कत कतै गणतन्त्रलाई नै विकृत बनाउने कुचेष्टा त होइन, यतातिर शंका गर्न सकिन्छ, रोकाले भने ।
त्यसैगरि, आजै बिहीबार प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शनमा सहभागी नेपाली कांग्रेसका युवाहरु बालुवाटारबाट पक्राउ परेका छन् ।
उता, देशभरका शिक्षकहरु २२ दिनदेखि राजधानीका सडकमा सरकारसँग ऐनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । सरकारले भने आत्मरतिका विभिन्न कार्यक्रमहरुमा जोड दिंदै आएको छ ।
अहिले एमाले वाहेक सम्पूर्ण क्षेत्र, तह, दलहरु, नागरिक समाज र विभिन्न निकायले ओली सरकारको चर्को आलोचना गरिरहेका छन् । केही दिनदेखि भने यो आलोचना विरोधमा रुपान्तरण भइरहेको देखिन्छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विरोध गरेका उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई ओली सरकारले बर्खास्त गरेपछि सत्तासहयात्री दल नेपाली कांग्रेस रुष्ट बनेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबार नै एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारबाट कांग्रेस हट्न सक्ने सार्वजनिक गरिसकेका छन् ।