काठमाडौँ । जम्मु–कश्मीर पहलगाममा घुम्न गएका तिर्थयात्रीमाथि भएको आक्रमणपछि इन्डियाले आफूविरुद्ध गरेको कारबाहीको जवाफमा पाकिस्तानले पनि धेरै कदम चाल्ने घोषणा गरेको छ।
यसैत दक्षिण एसियामा झण्डै झण्डै एक्लिएको इन्डिया पाकिस्तानको यो कडा कदमपछि झन भुमरीमा पर्ने संकेतहरु देखिएका छन् ।
बंगलादेशले यसअघि धागो लगायतका सामग्रीमा इन्डियालाई प्रतिबन्ध लगाइसकेको छ ।
श्रीलंका र माल्दिभ्सले अधिकांश व्यापार कारोवार चीनसँग गर्दै आएका छन् ।
कश्मीर क्षेत्रमा भएको आततायी घटनापछि इन्डियासँग पाकिस्तानको दुश्मनी झन फराकिलो हुने निश्चित छ ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा बिहीबार इस्लामाबादमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले इन्डियाविरुद्ध धेरैवटा निर्णय गरेको छ।
जसमा इन्डियासँगको द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई क्षेत्र र सीमा बन्द गर्ने र व्यापार निलम्बन गर्ने लगायत कुरा छन्।
बैठकपछि जारी विज्ञप्तिमा सिन्धु जल सन्धि निलम्बन गर्ने इन्डियाको निर्णय अस्वीकार गरिएको छ र भनिएको छ– यस सन्धिअन्तर्गत पाकिस्तानको भागबाट पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिनेछ र पूर्ण शक्तिका साथ जवाफ दिइनेछ।
विज्ञप्तिमा अगाडि भनिएको छ– इन्डियाले अन्तर्राष्ट्रिय महासन्धि, संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव र अन्तर्राष्ट्रिय दायित्वको जानाजानी उपेक्षा गर्दै गरेको लापरवाह र गैरजिम्मेवार व्यवहारलाई ध्यानमा राख्दै पाकिस्तानले शिमला सम्झौतासहित इन्डियासँगका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने अधिकार प्रयोग गर्नेछ।
इन्डियाले पाकिस्तानभित्र आतंकवादलाई बढावा दिने, विदेशमा हत्या गर्ने र कश्मीरमा संयुक्त राष्ट्र संघका प्रस्ताव पालना नगर्ने व्यवहार नरोकेसम्म पाकिस्तानले यी सम्झौता निलम्बन राख्ने पाकिस्तानले बताएको छ।
पाकिस्तानले इन्डियाको स्वामित्वमा रहेका वा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ। साथै वाघा सीमा पनि तत्काल बन्द गर्ने घोषणा गरेको छ।
यद्यपि घोषणाअनुसार, वैध कागजातसहित सीमा पार गरेर प्रवेश गरेकाहरू अप्रिल ३० सम्म यस बाटो हुँदै फर्कन सक्नेछन्।
पाकिस्तानले सिख तीर्थयात्रीबाहेक सार्क भिसा छुट कार्यक्रमअन्तर्गत सबै इन्डियन नागरिकलाई दिइएका सबै भिसा निलम्बन गरेको छ र यी भिसा रद्द भएको मानिनुपर्ने बताएको छ।
यस्ता भिसामा पाकिस्तानमा बसोबास गर्ने इन्डियन नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिइएको छ।
साथै घोषणामा भनिएको छ– इन्डियनसँगका सबै प्रकारका व्यापार पनि निलम्बन गरिएको छ र यो कुनै पनि तेस्रो देशमार्फत गरिने व्यापारमा पनि लागु हुनेछ।
पाकिस्तानले इस्लामाबादमा रहेका इन्डियन रक्षा-सैन्य सल्लाहकारहरूलाई पनि अवाञ्छित व्यक्ति घोषित गरेको छ र तुरुन्तै देश छाड्न भनेको छ, जबकि यी सल्लाहकारका सहयोगी कर्मचारीलाई पनि फिर्ता जान निर्देशन दिइएको छ।
घोषणाअनुसार, २०२५ अप्रिल ३० देखि इस्लामाबादस्थित इन्डियन उच्चायोगमा कर्मचारी संख्या ३० मा सीमित हुनेछ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणबेगर पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास व्यर्थ, तर्कहीन र तार्किक हारको संकेत भएको बताएको छ।
विज्ञप्तिमा पाकिस्तानले कुनै पनि भेदभावबिना सबै प्रकारका आतंकवादको निन्दा गर्ने र आतंकवादविरुद्ध विश्वको एक अग्रणी देश भएका कारण यसले ठूलो क्षति बेहोरेको पनि उल्लेख छ।
पाकिस्तानले इन्डियन दाबीविपरीत पाकिस्तानमा ’इन्डियन–प्रायोजित आतंकवाद’को अकाट्य प्रमाण रहेको दाबी गरेको छ, जसमा पूर्वइन्डियन नौसेना अधिकारी कमान्डर कुलभूषण जाधवको स्वीकारोक्ति पनि समावेश छ।
यसअघि बुधबार इन्डियाले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द, सार्क भिसा छुट कार्यक्रमअन्तर्गत पाकिस्तानी नागरिकलाई इन्डिया प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र इन्डिया छाड्न निर्देशन दिएको थियो।
यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र इन्डिया छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि इन्डियाले गरेको छ।
यसको बदलामा पाकिस्तानले पनि घनघोर निर्णय गरेर ठुलो प्रतिवादमा उत्रेको छ ।
विदेशी पर्यटकका लागि घुमफिरमा इन्डिया भन्दा पाकिस्तान तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।
दक्षिण एसियामा इन्डिया र पाकिस्तानले एकअर्कालाई आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आएका छन् । यी दुबै देशका सिमाना क्षेत्रका भूभाग भने सन्देहात्मक आतंकवादी समुहहरु हुर्किंदै आएका छन् । नागरिकतहमा इन्डियन भन्दा पाकिस्तानी नागरिक खुसी रहेको अन्तराष्ट्रिय सर्वेक्षणहरुले देखाएको छ ।
इन्डिया र पाकिस्तान दुबै देश अलग–अलग धर्मका तर प्रवृतिजन्य हिसाबले एउटै सोचबाट निर्देशित मुलुक हुन् ।
एजेन्सी