काठमाडौँ । इन्डिया–पाकिस्तान विवाद उत्कर्षमा पुग्दै जाँदा भएका प्रतिबन्धले इन्डियाले ठुलो क्षति व्यहोर्नुपर्ने अधिकारीहरुले जनाएका छन् ।
फलस्वरुप इन्डियाले थप गरिबी, पर्यटक शून्यता र विश्वमाझ विश्वासको संकट सामना गर्नुपर्ने छ ।
कश्मीर घटनालाई इन्डियाले छानविन गर्न मानेको छैन भने पाकिस्तानले अन्तराष्ट्रिय समुदायलाई छानविनको लागि अपिल गरिसकेको छ ।
यस कारणले पनि कश्मीर घटनामा इन्डियाले पालितपोषित आतंक समुह त होइन भन्ने आशंकाहरु जन्मिएको विभिन्न अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानले आफ्नो आकाशमा इन्डियन जहाजलाई प्रतिबन्ध लगाएको छ।
मंगलबार इन्डिया प्रशासित जम्मू–कश्मीरको पहलगाममा २६ जनाको मृत्यु हुनेगरी भएको हमलापश्चात दुई देशबीच बढ्दै गएको तनावकाबीच पाकिस्तानले इन्डियन जहाजलाई आफ्नो आकाशमा उडान प्रतिबन्ध लगाएको हो।
पाकिस्तानको यो निर्णय इन्डियाले सिन्धु जलसम्झौता निलम्बनको निर्णयपछि आएको हो।
पहलगाम घटनाको समयमा युएई भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण छोट्याएर फर्किएको भोलिपल्ट सुरक्षा क्याबिनेट बैठक बोलाएर सिन्धु जलसम्झौता तत्कालका लागि निलम्बन गर्ने लगायतका पाँच निर्णय गरेका थिए।
त्यसको जबाफमा बिहीबार पाकिस्तानले पनि सिमला सम्झौता, इन्डियासँगको सबै द्वीपक्षीय सम्झौता र व्यापारसमेत तत्कालका लागि रोक्ने निर्णय गरेको थियो।
जसमा इन्डियासँगको द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई क्षेत्र र सीमा बन्द गर्ने र व्यापार निलम्बन गर्नेलगायत कुरा छन्।
सिन्धु जल सन्धि निलम्बन गर्ने इन्डियाको निर्णय अस्वीकार गरिएको छ र भनिएको छ– यस सन्धिअन्तर्गत पाकिस्तानको भागबाट पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिनेछ र पूर्ण शक्तिका साथ जवाफ दिइने पाकिस्तानले जनाएको छ ।
इन्डियाले अन्तर्राष्ट्रिय महासन्धि, संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव र अन्तर्राष्ट्रिय दायित्वको जानाजानी उपेक्षा गर्दै गरेको लापरवाह र गैरजिम्मेवार व्यवहारलाई ध्यानमा राख्दै पाकिस्तानले शिमला सम्झौतासहित इन्डियासँगका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने अधिकार प्रयोग गर्नेछ।
इन्डियाले पाकिस्तानभित्र आतंकवादलाई बढावा दिने, विदेशमा हत्या गर्ने र कश्मीरमा संयुक्त राष्ट्र संघका प्रस्ताव पालना नगर्ने व्यवहार नरोकेसम्म पाकिस्तानले यी सम्झौता निलम्बन राख्ने पाकिस्तानले बताएको छ।
पाकिस्तानले इन्डियाको स्वामित्वमा रहेका वा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ। साथै वाघा सीमा पनि तत्काल बन्द गर्ने घोषणा गरेको छ।
पाकिस्तानले सिख तीर्थयात्रीबाहेक सार्क भिसा छुट कार्यक्रम अन्तर्गत सबै इन्डियन नागरिकलाई दिइएका सबै भिसा निलम्बन गरेको छ र यी भिसा रद्द भएको मानिनुपर्ने बताएको छ।
यस्ता भिसामा पाकिस्तानमा बसोबास गर्ने इन्डियन नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिइएको छ।
साथै घोषणामा भनिएको छ– इन्डियासँगका सबै प्रकारका व्यापार पनि निलम्बन गरिएको छ र यो कुनै पनि तेस्रो देशमार्फत गरिने व्यापारमा पनि लागु हुनेछ।
पाकिस्तानले इस्लामाबादमा रहेका इन्डियन रक्षा/सैन्य सल्लाहकारहरूलाई पनि अवाञ्छित व्यक्ति घोषित गरेको छ र तुरुन्तै देश छाड्न भनेको छ, जबकि यी सल्लाहकारका सहयोगी कर्मचारीलाई पनि फिर्ता जान निर्देशन दिइएको छ।
घोषणाअनुसार, २०२५ अप्रिल ३० देखि इस्लामाबादस्थित इन्डियन उच्चायोगमा कर्मचारी संख्या ३० मा सीमित हुनेछ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणबेगर पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास व्यर्थ, तर्कहीन र तार्किक हारको संकेत भएको बताएको छ।
पाकिस्तानले कुनै पनि भेदभावबिना सबै प्रकारका आतंकवादको निन्दा गर्ने र आतंकवादविरुद्ध विश्वको एक अग्रणी देश भएका कारण यसले ठूलो क्षति बेहोरेको पनि जनाएको छ।
त्यस्तै इन्डियन जहाजहरुलाई पाकिस्तानी आकाश उपयोग गर्न प्रतिबन्ध लगाइने निर्णय पनि सोही दिन भएको थियो।
यसबाट इन्डियाको ठूला एयरलाइन्सहरू एयर इन्डिया र इन्डिगो प्रभावित हुनेछन्। बिहीबार पाकिस्तानले त्यो निर्णय लिँदा दुई एयरलाइन्सका केही जहाजहरू पाकिस्तानकै आकाशमा थिए।
निर्णय सार्वजनिक भएपछि जहाज डाइभर्ट गरेर पुनः इन्डिया फर्काइएको थियो भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
पाकिस्तानले इन्डियन जहाजहरूलाई आफ्नो आकाश प्रयोग गर्न नदिने भएपछि यी जहाजका अन्तर्राष्ट्रिय उडानहरू अब लामो दूरी भएर जानुपर्ने भएको छ। जसले विमानको खर्च बढ्ने र उडान समय लम्बिने भएको छ।
विशेषगरी नयाँ दिल्लीबाट युरोप, मध्यपूर्व र उत्तर अमेरिकी मुलुकहरूको उडानमा इन्डियन जहाजहरूले पाकिस्तानको आकाश प्रयोग गर्थे। पाकिस्तानको कदमपछि एयर इन्डिया र इन्डिगोले न्युयोर्क, अजरबैजान र दुबईजस्ता गन्तव्यमा लामो हवाइ मार्ग प्रयोग गर्न थालिसकेका छन्।
इन्डिगोको दिल्ली–बाकु उडान बुधबार पाकिस्तानी आकाश प्रयोग गरी जाँदा ५ घन्टा पाँच मिनेटमा गन्तव्यमा पुगेको थियो। बिहीबार भने सोही गन्तव्यमा पुग्न ५ घन्टा ४३ मिनेट लागेको रोयटर्सले जनाएको छ।
यसले इन्धन खर्च बढ्ने र कार्गो ढुवानी घट्ने बताइएको छ। इन्धनले मात्रै एयरलाइन्सको खर्चको ३० प्रतिशत हिस्सा ओगट्छ।
त्यति मात्रै होइन चालक दलका सदस्यहरूका कार्यतालिका पनि परिवर्तन गर्नुपर्ने र उडानको समय बढी भएपछि स्वाभाविक रूपमा उनीहरूको तलब भत्तामा फेरबदल गर्नुपर्ने अवस्था आउँछ।
अन्य देशबाट इन्डिया आवतजावत गर्ने जहाजहरूलाई भने प्रतिबन्ध नलगाइएको बताइएको छ। इन्डियन जहाजहरूको हकमा भने कम्तिमा मे महिनाको २३ तारिखसम्म प्रतिबन्ध कायम रहनेछ।
यसअघि सन् २०१९ मा पनि पाकिस्तानले इन्डियन जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाएको थियो। त्यतिबेला इन्डियन एयरलाइन्सहरूलाई झन्डै ६४ मिलियन डलर नोक्सानी ब्यहोरेको भनेर रोयटर्सले लेखेको छ।
इन्डिया र पाकिस्तान सरकारले एक अर्काविरूद्ध प्रतिबन्ध लगाउँदै गर्दा सिमानामा दुई देशका सैनिकहरूबीच गोली हानाहान भइरहेका छन्।
जम्मू–कश्मीरको नियन्त्रण रेखा (एलओसी)मा इन्डिया र पाकिस्तानी सेनाबीच बिहीबार रातिदेखि नै गोली हानाहान भएको हो।
दुई सेनाबीच शुक्रबार रातभरि पनि गोली हानाहान भएको भनेर इन्डियन सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोली हानाहानमा दुवै पक्षबाट हताहती भएको विवरण सार्वजनिक भएको छैन।
इन्डियाले मंगलबारको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गर्दै आएको छ। उसको त्यो आरोप पाकिस्तानले इन्कार गरिरहेको छ।
मंगलबारको आक्रमणको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ। टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ।
इन्डिया–पाकिस्तानबीच बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ। तर, इन्डियाले यूएनको आग्रहलाई टेरेको छैन ।
पाकिस्तान भने कश्मीर घटनालाई विश्व समुदायले छानविन गरोस भनेर आग्रह गरिरहेको छ । इन्डियाले भने पाकिस्तानको आग्रह अस्वीकार गर्दै आएको छ ।
त्यसैगरि, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणमा इन्डियाले आधारहीन आरोप लगाएको गुनासो गरेका छन्।
इन्डियालाई आरोप लगाउने काम बन्द गर्न चेतावनी दिँदै उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि पाकिस्तान सबै सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका छन्।
बीबीसी उर्दुका अनुसार शरिफले सेना सीमाको रक्षा गर्न तयार रहेको र यसमा कुनै गडबडी हुन नहुने बताएका छन्।
उनले भनेका छन्, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी ठानिनु हुन्न।’
प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता राष्ट्रिय सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने बताए।
यही अप्रिल २२ का दिन जम्मु–कश्मीरको पहलगाम हमलामा २६ जना इन्डियन धार्मिक व्यक्तिहरु धर्मालम्बी र एक जना नेपाली यात्रीको मृत्यु भएको थियो ।
यसपछि इन्डियाले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा बन्द गर्नेलगायत पाकिस्तानविरुद्ध विभिन्न निर्णय गरेको थियो ।
जवाफमा पाकिस्तानले पनि इन्डियासँगको द्विपक्षीय सम्झौता निलम्बन, हवाई क्षेत्र तथा सीमा बन्दलगायत निर्णय गरिसकेको छ।
इन्डियामा जम्मु–कश्मीर, नागल्याण्ड, मणीपूर, खालिस्तान, उत्तरी क्षेत्र लगायतका ठुला भूभागमा दर्जनौं आतंकवादी समुहहरु रहेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
खालिस्तान अलग देशको माग गर्दै उत्तराखण्ड समेटेर ठुला ठुला भूमिगत विद्रोह समुहहरु निकै सक्रिय रहँदै आएका छन् ।
यद्यपी कश्मीर क्षेत्र इन्डियाको भएपनि पाकिस्तानको दाबी र पृथकतावादीहरुको लडाईंले गर्दा यहाँ केही दशकदेखि निकै अशान्त हुँदै आएको छ ।
इन्डिया र पाकिस्तान दुबै देशले एकअर्कालाई आतंकवादलाई मलजल गरेको आरोप लगाउँदै आएका छन् । यद्यपी यी दुबै देशमा बराबरी आतंकवादी समुहहरु हुर्केरहेका छन् । किनकी यी दुबै देश अलग–अलग धर्म भएपनि समान चरित्र धारणा गरेका देश हुन् ।
एजेन्सी