काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।
शास्त्रहोस वा आधुनिक विज्ञानले सिंगो भूगोलभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
यसदिनमा पोसिला खानेकुरा जस्तै माछामासु, दुध, दही, घीउमा बनाइएका परिकार र अन्य पौष्टिक वस्तुहरु खाने चलन नेपाली समाजमा रहेको छ ।
वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्साइएको छ ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी विज्ञानले भन्दछ । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।
नेपाली चाडपर्व आत्मियता, श्रद्धा,सम्मान, खुसी र मनोरञ्जनमा मात्र आधारित रहेका छन् । नेपाली पर्वमा धर्मको सम्बन्ध हुँदैन । पछिल्ला दिनहरुमा इन्डियन (भारतीय) धर्मसँग नेपाली पर्व जोडेर ब्रत, कष्ट र लैंगिकभेदी बनाउने प्रयास गरिएको छ । नेपाली चालचलन र इन्डियन कष्टपूर्ण ब्रतसँग कुनै तालमेल नभएको संस्कृतिका जानकारहरु बताउँछन् ।
महिलालाई ब्रत बस्न लगाएर होइन, झन मिठा मिठा खानेकुरा खान दिएर मनाए मात्र सम्पूर्ण आमाप्रति श्रद्धा हुने नेपाली खुल्ला समाजले विश्वास लिंदै आएको छ ।