काठमाडौँ । राप्रपा नेता रवीन्द्र मिश्रमाथि प्रहरीले निम्नस्तरको व्यवहार गरेको छ ।
थुनामा रहेका मिश्रलाई आज आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लैजाने क्रममा प्रहरीले अपमानजनक व्यवहार गरेको भिडियो अहिले सामाजिक संजालमा फैलिरहेको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रलाई प्रहरीले अदालत लैजाँदा धकेल्दै लगेको दृष्य निकै अस्वभाविक देखिन्छ ।
थुनुवाको पोशाकमा रहेका मिश्र जब गाडीबाट ओर्लन्छन् अनि नमस्कार गर्न हात उठाउने वित्तिकै प्रहरीले हात तल झार्दिन्छ । अहिले यो दृष्यलाई हेरेर चौतर्फी आलोचना भइरहेको छ ।
मिश्रको हातमा हत्कडी यथावत रहेको छ । उनले प्रहरीसँग हत्कडी भएको हातले इशारा गर्दै भने,‘नमस्कार गर्नुपरेन ?’
मिश्र बिबिसी नेपाली समाचार सेवाका पूर्वप्रमुख हुन् । लामो समय अन्तराष्ट्रिय मिडियामा नेपालको लागि शान्ति, विकास र समृद्धिको बहस गर्ने तर्कशील क्षमता भएका व्यक्ति पनि हुन् मिश्र ।
मिश्रका अभिव्यक्ति, लेखन र व्यवहार सधैं नै शान्ति, अमनचयनमै केन्द्रित हुने गर्दथ्यो । पत्रकारिता छोडेपछि पछिल्ला वर्षमा मिश्र राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।
हाल उनी राप्रपाको उपल्लो तहमा रहेर काम गरिरहेका छन् । मिश्रलाई गत चैत १५ गते तिनकुने हिंसात्मक घटनाको दोषी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।