काठमाडौँ । थुनामा रहेका रवीन्द्र मिश्र रिहाइका लागि सबै क्षेत्रबाट आवाज उठेको छ ।
पूर्वपत्रकार मिश्रलाई रिहा गर्नुपर्ने पत्रकारिता लगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले माग गरेका छन् ।
पत्रकार सुधीर शर्मा, भुषण दाहाल लगायतका व्यक्तिहरुले सामाजिक संजालबाट मिश्रको रिहाइको माग उठाएका छन् ।
मिश्रको राजनीतिसँग सरोकार नभएपनि न्याय निरुपणमा भएको ढिलाईप्रति सबैले गुनासो गरेका छन् ।
अहिले सामाजिक संजालमा ‘फ्रि मिश्र’ ट्रेन्ड नै चलेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुले मिश्रलाई थुना बाहिर राखेर न्याय निरुपणका कामहरु सजिलै गर्न सकिने आधारहरु प्रस्तुत गरेका छन् ।

मिश्रले कानुनलाई सहयोग गर्ने भएकोले थुनामा राख्न आवस्यक नभएको उनीहरुको माग रहेको छ ।
मिश्र बिबिसी नेपाली समाचार सेवाका पूर्वप्रमुख हुन् । उनले नेपालको शान्ति,अमनचयन र विकास लागि संचारकर्म मार्फत ठुलो योगदान पुर्याएका छन् ।
मिश्रका विगतलाई हेर्दा उनी हिंस्रक कतै देखिंदैनन् । उनले लेखेका पुस्तक, लेख र अभिव्यक्त गरिएका सबैजसो सामग्रीमा नेपालका लागि शान्ति, सद्भाव, समृद्धि, परोपकार र विकासमा केन्द्रित भएको पाइन्छ ।
संचारकर्म छोडेर मिश्र राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । विवेकशील साझा पार्टी हुँदै पछिल्लो पटक उनी राप्रपाको उपल्लो तहमा रहेर काम गरिरहेका छन् ।
हाल राप्रपाका वरिष्ठ उपाध्यक्ष रहेका मिश्र वर्तमान व्यवस्थासँग असहमति राखेर आन्दोलनमा होमिएका थिए । यसै क्रममा गत चैत १५ गते मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो ।