काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रेशम चौधरी फौजदारी अभियोग मुद्दा झेलेका व्यक्ति हुन् । नेपालको परिमार्जित कानुन र निर्वाचन ऐन अनुसार फौजदारी अभियुक्त र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएपछि राजनीति गर्न बन्देज रहेको छ ।
रेशम चौधरीमाथि २०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा हिंसात्मक काम गर्न प्रोत्साहित गरेको अभियोग छ । उक्त घटनामा ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो ।
कैलालीको टिकापुरमा भएको घटनामा चौधरीलाई सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो । त्यो फैसला कार्यान्वयनका लागि जेलमा रहेका बेलामा सरकारले उनलाई आममाफी दिएपछि छुटेका थिए ।
तर, पीडितको तर्फबाट पुनः मुद्दा परेको थियो । नेपालको इतिहासमा टिकापुर काण्ड ठुलो मध्येको एउटा नरसंहार घटना हो ।
‘सर्वोच्च अदालतले थुनामा राख्नु भनेकोले पक्राउ गरेका हौँ ,प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले राष्ट्रिय समाचार डटकमसँग भने,‘अहिले उनलाई कारागार चलान गरेका छौँ ।’ उनको पहिल्यैको पनि कैद भुक्तान बाँकी छ, यसैले यो कानुनी कारवाही र सर्वोच्चको आदेश अनुसार पक्राउ गरिएको उनले जानकारी दिए ।
टिकापुर हिंसात्मक घटनाको अभियोगमा रेशम लामो समय जेल बसेका थिए । उनको कैद भुक्तान बाँकी थियो, अहिले सर्वोच्चले थुनामै पठाउनु भनेकोले जेल चलान गरिएको प्रवक्ता आचार्यले बताए । रेशमलाई डिल्लीबजार जेल चलान गरिएको छ ।