दीर्घराज प्रसाईं
नेपालको इतिहासमा १९ जेठ २०५८ रातिको दरबार हत्याकाण्ड नेपाली जनमानसमा एक दुःखद घटनाका रूपमा चित्रित छ । यस हत्याकाण्डले विक्रम संवत् १९०३ को कोतपर्वलाई समेत उछिनेको छ । दरबार हत्याकाण्ड हुनुमा युवराजधिराज दीपेन्द्र र देवयानीबीचको प्रेमको अभिनय नै मूल कारण थियो । दरबार हत्याकाण्डको बेला पशुपति शमशेरकी छोरी देवयानी राणा भारतीय राजदूतावासको दक्षिणतर्फ र नारायणहिटी राजदरबार पर्खालको छेउको दुग्गड निवासमा बसेर युवराजको अवस्थाबारे दीपेन्द्रका अंगरक्षक राजु कार्कीसँग मोबाइलमा जानकारी लिइरहेकी थिइन् । युवराज दीपेन्द्रले आफ्ना बुबाआमा अर्थात् राजारानी, भाइ, बहिनी, दिदी, काका, भिनाजुहरूको हत्यापछि देब्र्रे हातले आफंैलाई पेस्तोल प्रहार गरी ढलेकोे विवरण लिएपछि मात्र देवयानी महाराजगन्जको आफ्नो घरमा फर्केकी थिइन् । हत्याकाण्ड सुनियोजित नभएको भए उनी त्यसरी दुग्गड निवासमा ढुकेर बस्ने अवस्था नै आउँदैनथ्यो । उनी फर्केपछि हत्याकाण्डको सम्पूर्ण विवरण आफ्ना बुबाआमालाई सुनाएको हुनुपर्छ । यसरी, कसको इशारामा यसरी बदलाको भावनाबाट पे्ररित भएर देवयानीले युवराज दीपेन्द्रसँग नक्कली प्रेमको नाटक गरेर विभत्स हत्याकाण्ड मच्चाइन् यो नै रहस्यमय छ । देवयानीलाई नेपालका राजा र राजदरबारसँग केको दुस्मनी थियो ? जुद्धशमशेर र चन्द्रशमशेर खलकको झगडा त इतिहास भइसकेको थियो ।
जातभातको कुरा निकालेर देवयानीलाई एक रखौटीको दर्जामा मात्र राख्न सकिने रानी ऐश्वर्यले भनेको देवयानीबाट उनकी आमाले थाहा पाएपछि आक्रोसित हुँदै महारानी राज्यलक्ष्मीले १९०३ असोजमा कोतकाण्ड मच्चाउन आदेश दिएको झैं देवयानीकी आमाले आज्ञा दिन सक्छिन्– यिनीहरूलाई मारेर किन आफैं राजारानी नहुने ? हत्याकाण्डको थालनी यसरी प्रारम्भ हुन्छ ।
युवराज दीपेन्द्रसँग देवयानीको प्रेममय विवाह गर्ने हल्ला मच्चिएकै थियो । दरबार हत्याकाण्ड पशुपति शमशेर र उनकी श्रीमतीलाई थाहा नै थिएन भन्न सकिँदैन । त्यस्तो रहस्यमय काण्डका बेला राति ९ बजेपछि छोरी घर फर्केपछि कहाँ गएकी थिइन् भन्ने कुरा उठ्छ नै । त्यसैले दरबार हत्याकाण्डको सबै विवरण उनले घरमा भनेकी थिइनन् भन्न सकिँदैन । पशुपति शमशेरको परिवारमा सबै कुरा थाहा भएर नै दरबार हत्याकाण्डबाट उम्कन राजा वीरेन्द्रको वंशनाश गरिएको भोलिपल्ट नै देवयानी राणालाई विनासोधपुछ दिल्ली पठाउनु अर्को रहस्य थियो । यत्रो काण्ड मच्चिएको भोलिपल्टै कसको आदेशमा उनलाई दिल्ली पठाइयो ? दरबार हत्याकाण्डमा देवयानी, उनकी आमालाई सोधपुछ नगरिनु त्यसबेलाको ठूलो कमजोरी थियो । देवयानीलाई भगाउनु र पशुपति शमशेरका परिवारलाई सोधपुछ नगरिनुमा भारतकै दबाब थियो भन्नेहरू पनि छन् । त्यसैले यो हत्याकाण्ड एक नियोजित हुन सक्छ । देवयानीले झुठो प्रेमको अभिनय गरेर दीपेन्द्रलाई विद्रोही बनाएकी थिइन्– यस हिसाबले पक्का पनि देवयानीको दीपेन्द्रसँगको प्रेम कृत्रिम थियो भन्न सकिन्छ । कृत्रिम नभएको भए हत्याकाण्डपछि कुनै शोक समवेदना नदिई उनले भाग्नुपर्ने कारण के थियो ? वास्तवमा यो नै एउटा ग्रायन्ड डिजाइन् थियो । किनकि, एक अनलाइनमा उनले ‘मलाई रानी हुन इच्छा नै थिएन’ भनेर बोलेको पढ्न पाइएको थियो । २०५८ सालमा नेपालको भारतीय राजदूतावासमा पी. हर्मिज भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख थिए । उनीसँग माओवादी नेता बाबुराम भट्टराईको निकट सम्बन्ध रहेको कुरा तिनै हर्मिजले भारतीय समाचार पत्र इन्डियन एक्प्रेसमा लेखेका छन् । अतः दरबार हत्याकाण्डको एक सातापछि अर्थात् २४ जेठ २०५८ मा माओवादी नेता बाबुराम भट्टराईले दरबार हत्याकाण्ड राजा ज्ञानेन्द्रबाट घटाइएको आशयको लेख कान्तिपुर पत्रिकामा प्रकाशित गराएका थिए । नेपाली जनमानसमा यसले ठूलो भ्रम सिर्जना ग¥यो । यो भ्रामक विचार लेखाउनमा भारतीय गुप्तचर संस्थाका प्रमुख पी. हर्मिजकै हात रहेको थियो भनिन्छ । हर्मिज पनि क्याथोलिक, बाबुराम भट्टराई पनि क्याथोलिक भएकाले उनीहरूबीचको घनिष्ठता राम्रो थियो । दरबार हत्याकाण्डपछि पुरस्कारका रूपमा हर्मिज भारतीय गुप्तचर संस्थाको प्रमुखमा बढुवा भए । यसबाट शंका गर्न सकिन्छ कि भारतीय गुप्तचर संस्थाको डिजाइनमा पशुपति शमशेरकी छोरीसँग युवराजा दीपेन्द्रलाई प्रेममा अन्धो बनाएर उनीबाटै हत्याकाण्ड गराउन देवयानी खलनायिका बन्न सक्छिन् । दरबार हत्याकाण्डभन्दा अगाडि दीपेन्द्र देवयानीसँग आशक्त बनेको कुरा थाहा पाएर नै रानी ऐश्वर्यले युवराज्ञीका रूपमा दीपेन्द्रले अर्कैसँग विवाह गर्ने र देवयानीलाई रखौटी राख्न स्वीकृति दिएकी थिइन् रे । यस काण्डबाट पशुपति शमशेरकी श्रीमती ‘आफू करोडपति र रानी ऐश्वर्य एक गरिब राणाकी छोरी’ भन्दै रानीसँग आगो भएकी थिइन् भन्ने कुरादीपेन्द्रको मामाघरबाट पुष्टि भएको थियो ।
दरबार हत्याकाण्डमा ‘राजा, रानी र भाइ सिध्याएपछि राजा र रानी हुने हक दीपेन्द्र र देवयानीको हुन्छ’ भन्ने रक्तरञ्जित षड्यन्त्र रचियो । त्यही षड्यन्त्रको कारणबाट आफ्नै छोराले आफ्नै बुबा, आमा सबैको हत्या गराउन उक्साइयो । यो घटना पक्का पनि देवयानीको हुतीबाट मात्र भएको थिएन । यसमा पशुपति शमशेरको ससुराली पनि भारत नै भएकाले त्यतैबाट काण्ड मच्चाउन भारतीय गुप्तचर संस्थाले सजिलो ठानेको हुन सक्छ । पशुपति शमशेर २०६२ भन्दा अगाडि अत्यन्त राजभक्त थिए । पशुपति शमशेर जस्तो कट्टर राजभक्त व्यक्ति २०६३ पछि गणतन्त्रवादी हुनुमा पनि केही रहस्य नहोला भन्न सकिँदैन । दरबार हत्याकाण्ड सम्बन्धमा माओवादी नेता दाहाल पनि प्रधानमन्त्री पदबाट हटेपछि ‘दरबार हत्याकाण्ड भारतकै षड्यन्त्र हो’ भनेर बोले । नेपाली कांग्रेसका नेता चक्र बाँस्तोला, जो भारतको राजदूत पनि बनेका थिए, उनले पनि दरबार हत्याकाण्ड भारत र अमेरिकी षड्यन्त्र थियो, भने । हालै राजदरबारमा धेरै वर्ष काम गरेका राजाका पूर्वसैनिक सचिव विवेक शाहले पनि ‘मैले देखेको दरबार’ नामक पुस्तकमा भारतीय षड्यन्त्रबाट दरबार हत्याकाण्ड भएको थियो भन्ने कुराको उजागर गरेका छन् ।
दरबार हत्याकाण्डकै राति प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सैनिक अस्पताल छाउनीबाटै भारतीय प्रधानमन्त्रीलाई दरबार हत्याकाण्ड भएको खबर सुनाएका थिए । यस्तो घटना हुँदा पनि भारतीयहरूबाट भने कुनै समवेदना आएन । दरबार हत्याकाण्डको खबर कांग्रेसका रामचन्द्र पौडेललाई उद्धृत गर्दै सबैभन्दा पहिलो खबर भारतीय जी टीभी न्युजमा प्रकाशित भएको थियो ।
२०३० मा हवाई अपहरण र सिंहदरबारमा आगलागीको घटना भएको थियो । हवाई अपहरण प्रकरणबारे चीनको हुनान विश्वविद्यालयका प्राध्यापक वाङचुङले ‘नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति तथा नेपाल चीन सम्बन्ध’ नामक पुस्तकमा लेखेका छन्– ‘भारतीय गुप्तचर संस्था ‘रअ’ को सहयोगमा सन् १९७३ को जुन महिनामा कांग्रेस कार्यकर्ताले नेपाल एयरलाइन्सको एउटा यात्रुवाहक विमान अपहरण गरी भारतमा लगे । यसबाट नेपालप्रति भारत कस्तो व्यवहार राख्न चाहन्थ्यो भन्ने कुरा बुझ्न सकिन्छ । सोही सालको जुलाईमा नेपाल सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा ‘रअ’ बाटै आगलागी गरेको र सन् १९७४ को मार्चमा नेपालका राजालाई हत्या गर्ने (जनकपुरमा भएको बमकाण्ड) पृष्ठभूमि रचेको थियो ।’ प्राध्यापक वाङचुङ लेख्छन्– ‘सन् १९७५ जुन २६ मा सम्पूर्ण भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरेपछि निर्वासनमा रहेका नेपाली कांग्रेसका नेता बीपी कोइरालालगायत सबै निर्वासित कार्यकर्ताहरूलाई राजनीतिक गतिविधिमा रोक लगाएपछि भारतबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए । राजा र आफूबीच मेलमिलाप भयो भने नेपाल सुरक्षित हुन सक्ने र भारतबाट नेपालको कहिल्यै हित हुन सक्दैन भन्नेमा पनि बीपी विश्वस्त थिए ।तर राजा र नेपाली कांग्रेसबीच मेलमिलाप भएन, भारतले फेरि खेल्ने मौका पायो । राजा वीरेन्द्रले स्वतन्त्र र आत्मनिर्भर परराष्ट्र नीति लागू गरेकाले भारतीयहरूले उनलाई मन पराउँदैनथे । त्यसैकारण सन् २००१ जुन १ मा नेपालमा भएको दरबार हत्याकाण्डको भारतीय जासुसी निकायको कालो हात रहेको आशंका गर्नु अस्वाभाविक होइन ।’ २०३० सालको हवाई अपहरण र सिंहदरबारको आगलागीमा भारतीय षड्यन्त्र रहेको चिनियाँ विद्वान्ले गरेको संकेतलाई नपत्याउन सकिँदैन । वास्तवमा कसैको घरमा आगो लाग्यो भने वरपर छिमेकीहरूलाई बढी जानकारी हुन्छ । घरमा आगो लागेपछि धुवाँ निस्केको कुरा पहिला छिमेकीले देखेका हुन्छन् ।
त्यही कुरा चिनियाँ कूटनीतिज्ञहरूले देख्न सक्छन् ।हामी नेपालीहरू भारत र भारतीय जनताका विरोधी होइनौं । भारतसँग हाम्रो सम्मान हुँदाहुँदै भारतले नेपाललाई होच्याउने मात्र काम गर्ने गरेकाले हामी भारतको हस्तक्षेप र षड्यन्त्रको कदापि समर्थन गर्दैनौं । भारत यहीँका कुचक्री पार्टीका नेताहरूमार्फत् नेपाललाई आफ्नो प्रभावमा लिन चाहन्छ । राजा वीरेन्द्रको राष्ट्रियताप्रतिको अडानले भारत आक्रोसित थियो । त्यसले गर्दा राजा वीरेन्द्रलाई जनमत संग्रहपछि नै हत्या गर्ने योजना बनाइएको थियो । उक्त कुराको सुइँको पाएर चीनबाट जानकारी गराइसकिएको थियो, भनिन्छ । तर अन्तर्राष्ट्रिय स्थिति अनुकूल नभएकाले भारतीय षड्यन्त्र सफल हुन सकेन र उसले आफ्नो षड्यन्त्र श्रीलंकामा लागू ग¥यो ।
२०६२ पछि राजा ज्ञानेन्द्रले भारतको प्रस्ताव मानेको खण्डमा जनआन्दोलन रोकाउने आश्वासन दिइएको थियो । तर राजाले भारतको प्रस्तावको समर्थन नगरेपछि २०६२ मंसिरमा १२ बुँदे सहमति दिल्लीमा गराएर नेपालका पार्टीका नेताहरूलाई आर्थिक व्यवस्थासमेत गराएर जनआन्दोलनमा लगानी गरेको थियो । आन्दोलनले रक्तपातको स्थिति लिन थालेपछि राजाले आन्दोलनकारी नेताहरूसँग सहमतिको आधारमा ११ वैशाख २०६३ मा सत्ता हस्तान्तरण गरेका थिए । तर ११ वैशाखको सम्झौता तोडेर धर्मनिरपेक्ष, गणतन्त्र र जातीय संघीयताका बुँदाहरू पारित गराइयो । नेपालमा अहिलेको संकट भनेको राजदरबार हत्याकाण्डपछि विदेशीहरूको नांगो हस्तक्षेप र ११ वैशाखको सम्झौता तोड्नु नै हो ।