काठमाडौं । ब्राजिलमाथि आज कोस्टारिकालाई हराउनै पर्ने दबाब छ । समुह ‘ए’मा रहेको ब्राजिलले आइतबार स्विट्जरल्याण्डसँग १–१ बराबरी खेलेपछि दबाब बढेको हो ।
पाँच पटकको विश्व विजेता ब्राजिल रसियामा छैटौं पटक उपाधि जित्ने अभियानमा छ । उक्त अभियान सफल बनाउन उसले कोस्टारिकाविरुद्ध सनसनीपूर्ण खेल्न आवश्यक छ । प्रशिक्षक टिटे र ब्राजिलका खेलाडीले स्विट्जरल्याण्डविरुद्धको खेलमा भएका कमजोरी सुधारेर उत्कृष्ट प्रर्दशन गर्ने बताइरहेका छन् ।
यता विश्वफुटबलमा ‘ब्लाक हर्स’ को परिचय बनाएको कोस्टारिका पहिलो खेलमा सर्वियाविरुद्ध व्यहोरेको हारको क्षतिपूर्ती ब्राजिलसँगको खेलमा निकाल्न चाहान्छ । २०१४ को विश्वकपमा इटाली, उरुग्वे जस्ता शक्तिशाली टिमलाई हराएको कोस्टारिका ब्राजिललाई हराउँदै अघिल्लो चरण प्रवेशलाई बलियो बनाउन चाहान्छ । तर, उसको यो अभियान त्यती सहज भने हुनेछैन । स्टार खेलाडीले भरिएको ब्राजिललाई हराउनु कोस्टारिकालाई निकै कठिन हुनेछ ।
स्विट्जरल्याण्ड विरुद्धको खेलमा १० फउलका सामना गरेका ब्राजिलका स्टार नेयमार बुधबार सामान्य अवस्थामै प्रशिक्षणमा फर्किएपछि ब्राजिलको मनोवल बढेको छ । यस्तै युवा स्ट्राइकर गाब्रियल जेसुस, डिफेन्डर मिरन्डा लगायतले पनि कोस्टारिका विरुद्ध सुधारिएको प्रर्दशन गर्ने बताएका छन् ।
दबाबमा रहको ब्राजिल समुह विजेताकोरुपमा अघिल्लो चरणमा प्रवेश गर्न कोस्टारिका हराउन चाहान्छ । यो समुहको शिर्ष स्थानमा सर्विया छ, उसले तीन अंक जोडेको छ । ब्राजिल र स्विट्जरल्याण्डले समान १–१ अंक जोड्दा कोस्टारिका भने अंक विहिन छ ।
ब्राजिल फिफा विश्ववरियाताको दोस्रो नम्बरमा रहँदा कोस्टारिका २३ औं स्थानमा छ । ब्राजिल विश्वकपमा सबै संस्करण (२१ औं) मा भाग लिने एक मात्र टोली हो । उसले पाँच पटक उपाधि जितेको छ । यता कोस्टारिकाका लागि भने रसिया विश्वकप पाँचौ विश्वकप हो, उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन् ।
ब्राजिल र कोस्टारिकाबीच अहिलेसम्म १० खेल भएका छन्, जसमा ब्राजिलले ९ जित दर्ता गरेको छ । कोस्टारिकाले भने १ खेल जितेको छ । ९ खेलमा जित हात पारेको ब्राजिलले ३९ गोल गर्दा कोस्टारिकाले ९ गोल गरेको छ । विश्वकपमा ब्राजिल र कोस्टारिका दुई पटक भेट भएका छन्, र दुवै खेल ब्राजिलले जितेको छ । ब्राजिलले ६ गोल गर्दा कोस्टारिकाले २ गोल फर्काएको छ ।