रुसमा चलिरहेको विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरु सकिएका छन् । यस क्रममा विश्वकपका दावेदार मानिएका केही टिमहरु घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीहरुले निराश बनाए ।
अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका रोनाल्डोलाई अब यो विश्वकपमा देख्न पाइने छैन । बरु केही कम चिनिएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई अघि बढाएका छन् । यसरी उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको मात्रै एउटा टिम बनाउँदा को–को पर्लान् त ? यो जिज्ञासा धेरैलाई हुन सक्छ ।
यसैबारेमा फुटबल सम्बन्धि समाचार सम्प्रेषण गर्दै आएको गोलडटकमले प्रथम नकआउट चरणमा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरुमध्येबाट एउटा टिम बनाएको छ । टिमको संरचना यस्तो छ ।
इगोर अकिनफेभ
गोलकिप्पर, रुस
स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पुर्याउन भूमिका खेले । खेलमा उनले एक गोलमात्रै खाए ।
मारियो फर्नान्डेज
राइटब्याक, रुस
राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्याे ।
भिक्टर लिन्डेलोफ
सेन्टरब्याक, स्विडेन
म्यानचेस्टर युनाइटेडका सेन्टरब्याक भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले क्लिनसिट राख्दै स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्याे ।
डियगो गोडिन
सेन्टरब्याक, उरुग्वे
एटलेटिको मड्रिडबाटका यी अनुभवी सेन्टरब्याक उरुग्वेको लागि बलियो खम्बाको रुपमा प्रस्तुत भए । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो ।
डियगो लाक्साल्ट
लेफ्ट ब्याक, उरुग्वे
उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरु मिलाइदिएका थिए ।
पाउल पोग्बा
सेन्ट्रल मिडफिल्डर, फ्रान्स
फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराउँदा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणको लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरु मिलाइदिएका थिए ।
मारोउने फेलानी
सेन्ट्रल मिडफिल्डर, बेल्जियम
बेल्जियमका सेन्ट्रल मिडफिल्डर मारोउने फेलानी दोस्रो हाफमा बेञ्चबाट मैदानमा आएपछि दुई गोलले पछि परेको अवस्थालाई चिर्दै बेल्जियमले ३–२ ले खेल जित्यो । फेलानीले उत्कृष्ट खेलेका थिए र बराबरी गोलसमेत गरेका थिए ।
ताकासी इनुई
सेन्ट्रल मिडफिल्डर, जापान
जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो ।
किलियन एमबाप्पे
फरवार्ड, फ्रान्स
फ्रान्सका टिनएज फरवार्ड किलिएन एमबाप्पे अन्तिम १६ राउण्डको निर्विवाद स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गर्दै उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए ।
एडिन्सन काभानी
फरवार्ड, उरुग्वे
एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलको लागि आफ्नो स्थान सुरक्षित गर्याे । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसिप पनि धेरै नै उत्कृष्ट थियो ।
नेयमार जुनियर
फरवार्ड, ब्राजिल
नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर पीएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्टियानो रोनाल्डो घर फर्कदैँ गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा पुर्याए । उनको लोभलाग्दो गोल र पासको मद्धतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो ।
गोलडटकमबाट