मस्को, असार ३२ गते । विश्वकप फुटबल प्रतियोगिता विश्वकै नजरमा रहनेहुँदा युवा उदीयमानका लागि विश्व फुटबलम आफ्नो आगमन देखाउने ठूलो मञ्चका रूपमा रहेको छ । यसपालि पनि यस्ता केही प्रतिभाशाली क्षमतावान् खेलाडीले आफ्नो आगमनको आभास दिएका छन् ।
किलियन एमबापे (फ्रान्स), १९ वर्ष
फ्रान्सका यी किशोर खेलाडी अर्जेन्टिनाविरुद्ध गरेको प्रदर्शनले सबैका प्रिय बने । फ्रान्सले ४–३ ले जितेको खेलमा एमबापेले आफ्नो गतिद्वारा अर्जेन्टिनाको डिफेन्स छिन्नभिन्न पारेका थिए । सो खेलमा उनले दुई गोल गर्नुका साथै एक पेनाल्टी जितेका थिए । पेरिस सेन्ट जर्मेनका खेलाडी एमबापे अहिले नै विश्वका सर्वाधिक दोस्रो महँगा खेलाडी बनिसकेका छन् । विश्वका सर्वाधिक महँगा खेलाडी नेमार हुन् । एमबापेबाट भविष्यमा थप जादूगरी खेलको अपेक्षा गरिएको छ ।
बेन्जामिन पवार्ड (फ्रान्स), २२ वर्ष
बुन्डेसलिगामा स्टुटगार्टबाट खेल्ने फ्रान्सका यी राइट ब्याकले अर्जेन्टिना विरुद्धको खेलमा हाफ भलीमा अविस्मरणीय गोल गरे । यसबाहेक अहिलेसम्म विश्वकपमा उनको शानदार प्रदर्शनले उनी ट्रान्सफर मार्केटमा हटकेक बनिसकेका छन् । फ्रान्सेली क्लब लिलेका उत्पादन पवार्डले सन् २०१६ मा जर्मनीमा जानुअघि लिलेका लागि एक सत्र खेलेका थिए । सन् १९९८ को विश्वकपमा लिलियन थुरामपछि विश्वकपमा गोल गर्ने फ्रान्सका पहिलो डिफेन्डर बनेका पवार्डमाथि अहिले नै म्यानचेस्टर सिटी, टोटेनहाम हस्परस र बायर्न म्युनिखले आँखा गाढिसकेका छन् ।
अलेक्ज्यान्डर गोलोभिन (रुस), २२ वर्ष
रुसी मिडफिल्डर अलेक्ज्यान्डर गोलोभिनले उद्घाटन खेलमा साउदी अरबविरुद्ध फ्रिकिकमा गरेको सनसनीपूर्ण गोल अहिले पनि ताजै छ । सो खेलमा उनले दुई एसिस्ट पनि गरेका थिए । सो खेलपछि नै गोलोभिनलाई चेल्सीले दुई करोड ७० लाख पाउन्डमा आफ्नो क्लबमा ल्याउने भनिसकेको छ । उनलाई भिœयाउने होडमा आर्सनल पनि देखिएको छ । इटालीको क्लब युभेन्टस्ले पनि गोलोभिनलाई टिममा ल्याउने इच्छा देखाएको छ ।
हर्भिङ लोजानो (मेक्सिको) २२ वर्ष
मेक्सिकोको क्लब पाचुकाबाट नेदरल्यान्ड्सको पीएसभीमा स्थानान्तर भएको एक वर्षमै हर्भिङ लोजानोको खेल जीवनले यस विश्वकपबाट ठूलो छलाङ मार्ने निश्चित छ । जर्मनी विरुद्धको खेलमा मेक्सिकोका लागि निर्णायक गोल गरेर विश्वलाई आफ्नो उपस्थिति देखाउने लोजानोलाई बार्सिलोना, युभेन्टस्, आर्सनल र इभर्टनजस्ता ठूला क्लबले आमन्त्रण गरिसकेका छन् । जसको फाइदा पीएसभीले उठाउने पक्का छ । विङ्गर लोजानोका लागि पीएसभीले कम्तीमा चार करोड युरो स्थानान्तर रकम माग गर्ने बताइएको छ ।
जोर्डन पिकफर्ड (इङ्ल्यान्ड) २४ वर्ष
इभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले यस विश्वकपमा इङ्ल्यान्डको गोलरक्षकको छवि उकासेका छन् । यस विश्वकपमा पिकफर्डले कुल १५ बचाउ गरे । कोलम्बियाविरुद्ध पेनाल्टी सुटआउटमा पिकफर्ड चम्केपछि नै इङ्ल्यान्ड क्वाटर फाइनलमा पुगेको थियो ।एजेन्सी