राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच पुनः एकीकरण प्रयास सुरु भएको छ। अघिल्लो साउन २२ मा केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सांसद पुर्याएर पश्पतिशम्शेर जबराको नेतृत्वमा राप्रपा फुटेर राप्रपा (प्रजातान्त्रिक) गठन भएको थियो।
त्यसपछि भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा दुवै दल पराजित भए। त्यतिमात्रै होइन, दुवै दल राष्ट्रिय दलसमेत बन्न सकेनन्।
राष्ट्रिय दलको मान्यता नपाएपछि पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच पुनः एकताको प्रयास भइरहेको छ। नेतृत्व तह र दुई पार्टीले बनाएको कार्यदलमा पनि छलफल भइरहेको छ। तर, कुरा मिल्न सकिरहेको छैन।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले भने राप्रपाले आफ्नो सैद्धान्तिक लाइन छाडेपछि मात्रै दुई पार्टीबीच एकता हुनसक्ने बताए। स्पेसखबरसँगको कुराकानीमा थापाले जनतालाई अब बाइपास गरेर जान नसकिने भएकाले राप्रपाले आफ्नो सिद्धान्तलाई परिवर्तन गरेमात्रै एकता हुन सक्ने बताएका हुन्।
‘कमल थापा नेतृत्वको राप्रपाले लिएको लाइन गलत छ। संविधान स्वीकार गरिसकेपछि त्यो लाइन लिन उपयुक्त छैन,’ महामन्त्री थापाले भने,‘राजा र हिन्दु राष्ट्रको एजेन्डालाई उसले छाडेपछि मात्रै एकता हुनसक्छ।’ उनले राप्रपा प्रजातान्त्रिको बटमलाइन संविधान स्वीकार गरिसकेपछि राजा र हिन्दु राष्ट्रलाई छोड्नु पर्छ भन्ने रहेको बताए।
‘उहाँहरूले संविधानलाई स्वीकार गरिसकेपछि राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा समाप्त भएको छ। तर त्यही कुरालाई एजेन्डा बनाइरहनु भएको छ। त्यसैले त्यो कुरा नछाडेसम्म एकता हुन गाह्रो हुन्छ,’ महामन्त्री थापाले भने। उनले चुनाव पनि संविधानअनुसार नै लड्नु पर्ने भएकाले राजा र हिन्दु राष्ट्र भन्ने शब्द त्याग्नु पर्ने बताए।
‘विचारकै कारण राप्रपा फुटेको हो’
दुई पार्टी (राप्रपा नेपाल र राप्रपा) बीच एकीकरण भएको ८ महिना नबित्दै फुट आउनुको मुख्य कारण विचार नै भएको थापा बताउँछन्।
उनी भन्छन्,‘हिजो राप्रपा र राप्रपा नेपाल मिल्दा हामी दुईटा भिन्न विचार बोकेका पार्टी थियौं। मिल्ने कोशिश पनि गरेकै हौं तर, विचार नमिलेपछि पार्टी विभाजन हुन पुग्यो।’
उनले राजनीतिक लाइन गणतन्त्र र संघीयतालाई बनाएर अघि बढ्नु पर्छ भन्ने सहमति भएपनि त्यसलाई राप्रपा अध्यक्ष कमल थापाले तोडेकाले पार्टी विभाजन भएको बताए। ‘दुई पार्टी एकीकरणका बेला भएका सहमति (जेन्टलमेन एग्रिमेन्ट) दुरुपयोग भयो। वरिष्ठ नेताहरूलाई सम्मानीत गरेर मिलेर अघि बढ्नु पर्छ भन्ने कुरा पनि मिलेन,’ उनले भने,‘त्यसपछि विचार नमिलेपछि हामी छुट्टिएका हौं।’
राजनीतिक लाइन गणतन्त्र र संघीयता नै हुने भएकाले त्यसलाई लिएर अघि बढ्नु पर्छ भन्दा अध्यक्ष थापासहित केही नेताहरूले राजतन्त्र र हिन्दु राष्ट्र भनेपछि कुरा बिग्रिएको थापाले बताए। ‘त्यतिबेलाको हाम्रो पार्टी (राप्रपा) का केही साथीहरू थिए, यो प्रक्रियामा मिल्नु हुन्न भन्ने । किनभने राजनीतिक लाइन नै फरक भएपछि मिटिङ प्वाइन्ट नै पाउन गाह्रो हुन्छ भनेर। तर, जनताको चाहना र सशक्त रुपले उभिएर मुलुकको तेस्रो वा चौथौ शक्ति हुन्छौं भने गरौंन त एकपटक भनेर हामी लागेका हौं। विचार नमिलेपछि फेरि छुट्टिएर नयाँ पार्टी बनाउनु प¥यो,’ थापाले भने।
राप्रपा नेपालको झण्डा भइसकेपछि राप्रपाको हलो चाहिँ राख्नु पर्छ भन्दा पनि अध्यक्ष थापाले स्वीकार नगरेको उनको आरोप छ। विचारमा भिन्नतामात्रै नभएर एकताका बेला भएका जेन्टलमेन्ट एग्रिमेन्ट कार्यान्वयन नभएको र राप्रपा अध्यक्ष कमल थापाले सबै निर्णय आफ्नै तरिकाले गर्न थालेपछि बाध्य भएर पार्टी फुटाउनु पर्ने अवस्था आएको महामन्त्री थापाले बताए।
‘हामी वैकल्पिक प्रजातान्त्रिक शक्ति हौं भनेकाले हाम्रो प्रजातान्त्रिक छविलाई नै अघि बढाउनु पर्छ भनेर पार्टीबाट अलग्गिएका हौं। यही ठाउँमा बसेर अघि जान सक्दैनौं भन्ने निष्कर्ष निकालेर हामी अर्को बाटो लागेका हौं,’उनले भने,‘पार्टी एकताका लागि अब राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्र भन्न छोड्नु पर्छ।’
‘भत्केको घरको ढुंगा फालेर नयाँ बनाउनुको अर्थ छैन’
उनले हिजो राप्रपाले लिएका सैद्धान्तिक कुराहरू अलिक असान्दर्भिक भएको हो कि भन्ने आफूहरूलाई लागेको बताए।
उनले भने,‘स्थानीय निर्वाचन दुवै दल एक हुँदा लड्याैं। तर, सोचेजस्तो रिजल्ट आएन। हामीले जनताको मनशाय र उनीहरूले चाहेको कुरा बोल्न सकेनौं। त्यसले गर्दा रिजल्ट राम्रो दिएन।’
‘अब पनि सबै कमिकमजोरी केलाएर मात्रै एकताको कुरा हुन सक्छ,’महामन्त्री थापाले भने,‘ घर भत्कियो भन्दैमा खाली ढुंगा फालेर फेरि नयाँ घर बनाएर काम लाग्दैन। नयाँ घर बनाउन या त पुरानै ठाउँमा बन्ने हो भने त्यो घर किन भत्कियो भनेर समिक्षा गरेर त्यसलाई केलाएर अब त्यो नभत्कियोस् भनेर त्यसलाई मध्यनजर गरेर त्यहीबाट नयाँ सुरु गर्नु पर्छ।’
उनले पार्टी एकताका लागि आफूहरू वार्ता र संवाद गर्न तयार रहेको बताए। तर, अब खुल्ला दिलले वार्ता हुनुपर्ने उनको भनाइ छ। ‘वार्ताका लागि उहाँहरू पनि तयार हुनुहुन्छ। समस्याको समाधान वार्ता नै हो,’ उनले भने,‘हिजो पनि हामी मिलेकै हौं। तर, हामीले केही गल्ती–कमजोरी गरेका छौं भने हामीले पनि त्यसलाई महसुस गर्नु पर्छ, अरु पक्षले गरेका छन् भनेपनि महसुस गर्नु पर्छ।’
सबै लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्छ
थापाले दुई राप्रपामात्रै नभएर प्रजातन्त्रमा विश्वास गर्ने सबै शक्ति एक ठाउँमा उभिनु पर्ने बताए। वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रको एकताले प्रजातन्त्रवादीहरू एक ठाउँमा हुनु पर्छ भन्ने सन्देश पनि दिएको उनले बताए।
‘बुवा स्वर्गीय सूर्यबहादुर थापाले भनेको कुरामा हामी आइपुग्यौं। सूर्यबहादुर थापाले अब नेपालमा सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु पर्छ भन्ने कुराको जुन अवधारणा ल्याउनु भएको थियो, त्यसलाई वाम एकताले सान्दर्भिक बनायो,’ उनले भने। उनले प्रजातान्त्रिक शक्तिमा विश्वास गर्ने सबै व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिनु पर्ने बताए। ‘राप्रपासँग सैद्धान्तिक आधारमा मिल्ने अरु पार्टी, समूह, व्यक्ति मिल्न सकिन्छ,’उनले भने।
‘कसैको घरभित्रै झगडा छ, कसैको घरबाहिर झगडा छ भने त्यसलाई मिलाएर सशक्त रुपमा हिजो प्रजातान्त्रिक शक्तिको नाममा छरिएर रहेको भोटलाई एकै ठाउँमा ल्याउनु पर्छ,’उनले भने,‘अब त्यसका लागि एकीकृत अभ्यास नै गर्नु पर्छ।’
स्पेशखबर डट कमबाट
प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५ २२:१०