काठमाडौं । अमेरिकी डलरको मूल्य ११२ रुपैयाँ नाघेको छ। यो हालसम्मकै उच्च हो।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि डलरको बिक्रीदर मूल्य ११२ रुपैयाँ २० पैसा तथा खरिददर मूल्य १११ रुपैयाँ ६० पैसा तोकेको छ। एकै दिन डलरको मूल्य १ रुपैयाँ ७७ पैसाले बढेको हो। यसअघि सोमबार बिक्रीदर मूल्य ११० रुपैयाँ ४३ पैसा थियो।
आफ्नो व्यापार घाटा कम गर्ने उद्देश्यले अमेरिकाले विभिन्न देशबाट आयात हुने बस्तुमा कडाई गरेसँगै डलर महँगिएको हो। यसअघि चीनबाट आयातित हुने बस्तुमा कडाई गरेको उसले हालै टर्कीबाट हुने आयातमा कडाई गरेको छ।
अमेरिकाले टर्कीबाट हुने आयातमा कडाई गर्नु र इरानसँग तेलको व्यापार गरेका अन्य मुलुकलाई समेत चेतावनी दिएसँगै मंगलबार डलर मजबुत बनेको भारतीय संचारमाध्यमले जनाएका छन्।
टर्कीबाट हुने धातुको आयातमा अमेरिकाले दुई गुणा आयात शुल्क लगाएको छ। जसले गर्दा टर्कीको मुद्रा लिरा'मा उच्च गिरावट आएको छ। सोमबार मात्रै सो मुद्रा अमेरिकी डलरसँगको बिनिमयदरमा ९ प्रतिशतले घटेको छ।
त्यस्तै इरानबाट तेल खरिद गर्दै आएका मुलुकहरुलाई समेत अमेरिकाले नकिन्न चेतावनी दिँदै आएको छ। इरानको व्यापारमा प्रतिवन्ध लगाउने रणनीतिअनुरुप उसले त्यहाँबाट तेल खरिद गर्ने राष्ट्रलाई चेतावनी दिएपछि डलरको माग बढेको संचारमाध्यमले जनाएका छन्।
भारु कमजोर बनेसँगै स्थिर बिनिमयदर रहेको नेपाली मुद्रा स्वतः हालसम्मकै सबैभन्दा कमजोर बनेको छ।
डलर महँगिदा कस्तो असर पर्छ ?
नेपाली मुद्रा कमजोर हुँदा आयातित बस्तुमा बढी रकम खर्चिनुपर्दछ। नेपालमा सबैभन्दा बढी रकमको आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थ, अटोमोबाइल्स तथा पार्टपूर्जा, फलाम लगायतको मूल्य बढी पर्न जान्छ। यसले गर्दा ब्यापार घाटा थपिन जानेछ।
उपभोग्य बस्तुहरुको मूल्य समेत बढ्ने भएकाले यसबाट मूल्यबृद्धिमा चाप पर्न जान्छ। सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको सीमाभित्र मूल्यबृद्धि सीमित राख्ने योजना बनाएको छ। डलरको मूल्यबृद्धिले सो लक्ष्य विफल पार्न सक्नेछ।
आयातित उत्पादनमा निर्भर रहेका कारण सबैजसो सामानको मूल्य चुलिन जान्छ।
निर्माणाधिन विकासका पूर्वाधारमा लागत महँगो पर्न जान्छ। यसको एउटा उदाहरण निर्माणाधिन माथिल्लो तामाकोसी आयोजना हो। आयोजनाको विस्तृत डिजाइनपछि डलर महँगिदै जाँदा अर्थात मुद्रा अवमूल्यनकै कारण निर्माण सम्पन्न नहुँदै ७ अर्ब लागत बढी पर्न गएको छ।