उदाहरणका लागि, सबैभन्दा पहिले माफी माग्ने साँचो नियत राख्नुहोस्, त्यसपछि आफ्नो व्यवहार स्पष्ट गर्नुहोस्, प्रेमिकाको कुरा सुन्नुहोस्, विवाद सुल्झाउनका लागि समय दिनुहोस्, उपहार दिनुहोस्, चिट्ठी लेख्नुहोस्, आदि इत्यादि ।
जब भारतको महाराष्ट्रमा बस्ने एक युवकले आफ्नो शहरमा तीन सय होर्डिङकोर्ड लगाएर प्रेमिकासँग माफी मागे, त्यतिबेला उनले ती जवाफमध्ये कुनै पढेका थिए– थिएनन् त्यो उनलाई नै थाहा होला ।
महाराष्ट्रमा पुणे नजिकै पिम्परी–चिन्डवाडमा २५ वर्षे एक युवकले ‘शिवडे, आई एम सरी’ लेखेर उक्त होर्डिङबोर्ड लगाएका थिए ।
सार्वजनिक स्थानमा ‘आइ एम सरी’ लेखेर टाँस्दा प्रेमिकाको मन पग्लेला र उनले माफी पाउलान् भन्ने कुरा ती युवकको दिमागमा किन र कसरी आयो ?
माफी माग्दा उनले प्रेमिकाको नाम वा उपनाम (शिवडे) लेख्दा, उनलाई कुनै समस्या आइलाग्नेछ भन्ने बारे किन सोचेनन् ?
युवकको क्रियाकलाप नै त्यस्तै थियो, पत्रिकामा फोटो छापियो र जसले होर्डिङबोर्ड देखेका थिएनन्, उनीहरुले पनि यसबारे थाहा पाए ।
अब जुन इलाकामा ती युवती बस्छिन् त्यहाँको पुलिसले ती युवकसँग सोधपुछ गरिरहेको छ ।
ती युवतीले युवकलाई माफी दिइन् वा दिइनन् त्यो हामीलाई थाहा छैन तर माफी माग्ने तरिकामा भने अवश्य पनि बहस सृजना भएको छ ।
जब क्रिस ब्राउनले रिहानासँग माफी मागेः
सार्वजनिक रुपमा माफी मागिएको यो घटना न त पहिलो हो न अन्तिम नै । केही सेलिब्रिटीले पहिले पनि यस्तो तरिका अपनाइसकेका छन् ।
चर्चित गायिका रिहानाका प्रेमी क्रिस ब्राउनले सार्वजनिक माफीको बाटो अपनाएका थिए ।
सन् २००९ मा क्रिस ब्राउनले रिहानलाई बेस्सरी कुटेका थिए जसका कारण उनीमाथि घरेलु हिंसाको मुद्दा चल्यो ।
केही महिनापछि उनले एक भिडियो जारी गरेर माफी मागे र आफूले पहिले नै माफी माग्न चाहँदा वकिलले मुद्दाका कारण यसो गर्न नसक्ने सल्लाह दिएका कारण ढिला माफी मागेको जानकारी दिए ।
भिडियोमा उनले रिहानासँग थुप्रै पटक नीजि रुपमा माफी मागिसकेको तर उनी नमानेको बताउँदै सार्वजनिक रुपमै आफ्नो व्यवहारमाथि लज्जित भएको कुरा स्पष्ट पार्न चाहेको बताएका थिए । आफू रोल मोडल बन्नसमेत इच्छुक भएको उनले भिडियोमा बताएका थिए ।
यहाँ माफी के कारण मागिएको थियो रोल मोडल बन्नका लागि वा रिहानाको मन जित्नका लागि ? नियत के थियो ?
क्रिस ब्राउनले माफी पाएनन्, न रिहानाको तर्फबाट न त काूननको तर्फबाट नै । उनलाई घरेलु हिंसामा दोषी पाइयो र सजायँ पनि दिइयो ।
शिग्गी डान्सको माफीः
यही महिना सोसल नेटवर्किङ साइट इन्स्टाग्राम र युट्युबमा ‘शिग्गी डान्स’ मार्फत लाखौं फलोअर्स जुटाउन सफल शिग्गीले पनि आफ्नी प्रेमिकासँग सार्वजनिक रुपमा माफी मागे ।
एक भिडियो पोष्ट गरेर शिग्गीले आफूले अन्य महिलासँग सम्बन्ध स्थापित गरेको र प्रेमिकालाई नीच देखाएको भन्दै माफी मागेका थिए । उनले पनि आफू अब रोल मोडल बन्न चाहेको बताउँदै आफ्नो कार्यप्रति लज्जित भएको बताएका थिए ।
शिग्गीले यसरी माफी मागेपछि उनको प्रेमिकाको मन के पग्लिन्थ्यो बरु उल्टै सोसल नेटवर्किङ साइट्समा उनका प्रशंसकले नै उनको आलोचना गर्न थाले ।
थुप्रै ट्वीट गरियो जसमा शिग्गीको माफी माग्ने तरिकाले उनले कस्तो व्यवहारलाई पुरुषार्थ मान्छन् र महिलालाई कस्तो नजरले हेर्छन् भन्ने स्पष्ट हुन्ने कुरा लेखिएको थियो ।
सेलिब्रिटी जब सार्वजनिक रुपमा माफी माग्छन् तब उनीहरुको उद्देश्य व्यक्तिसँग नभई प्रशंसकबीच आफ्नो छवि सङ्ल्याउने हुन्छ तर यदि नियत सही नभए, त्यसले कुनै रंग ल्याउँदैन ।
संयुक्त राष्ट्र, विश्व स्वास्थ्य संगठन वा कुनै अन्तर्राष्ट्रिय शोधले प्रेमिकासँग कसरी माफी माग्ने भन्ने कुनै मापदण्ड त तोकेको छैन तर यदि कोही कुरा गर्न चाहँदैन भने जसरी पनि कुरा गर्न कोसिस गर्नु, जबर्जस्ती ‘हुँदैन’ लाई पनि ‘हुन्छ’ भन्न लगाउनु, ‘स्टकिङ’ जस्तो महसुस हुन सक्छ ।
दबाब लाग्न सक्छ कि माफी नदिँदा संसारले ‘कठोर’ को संज्ञा दिनेछ ।
यस्तो माफी पाएपनि न त त्यो मनबाट दिइएको हुन्छ न नै यसले टुक्रिएको मनलाई नै जोड्ने काम गर्छ ।
प्रेम र माफी, दबाबमा पाइँदैन । माग्ने तरिका र उद्देश्य दुबै सही नियतको भएमात्र माफी पाउन सफल भइन्छ ।
आफ्नो गल्ती मान्ने नियत र खुल्ला दिमागले दोस्रो व्यक्तिको कुरा सुन्ने नियत ।
त्यसपछि जवाफको प्रतिक्षा गर्ने र यदि नकारात्मक जवाफ आए, त्यो सुनेर त्यसलाई बुझ्ने नियत ।
यदि जवाफ सकारात्मक आए आफूले पाएको माफी वास्तविक रुपमा निभाउने नियत । किनभने ‘आइ एम सरी’ भन्नु अन्तिम होइन, मात्र पहिलो कदम हो । त्यसपछि त्यो गल्तीलाई पुनः नदोहोराउन मनबाट गरिएको कोसिस, माफीको नियतको वास्तविक परिक्षण हो ।