६२/६३ को आन्दोलन पछि धर्म सामाजिक बहसको विषय बन्यो । बिस्तारै बहसको विषय बन्दै गएको कारण सबैको आ-आफ्नो बुझाई हुनु त छ्दैंछ । विघटन भैसकेको प्रतिनिधिसभा पुन:स्थापित भए पश्चात पुन:स्थापित भएको खुसीमा नेपाललाई धर्म निरपेक्ष बनाउने घोषणा गरेर नेपाली जनतालाई धर्ममा अपेक्षा नराख्ने पार्टीहरुले धर्मनिरपेक्षता आन्दोलनको पुरस्कार दिए पछि धर्म अब नमेटिने गरि नेपाली समाजको चासो र बहसको विषय बन्यो र बनिरहेको छ । बिचका तानाबानाको व्याख्या नगरी सत्य भन्नु पर्दा त्यति खेर माओवादीले जे भन्छन्, त्यही मानेर हिन्नु पुन:स्थापित सांसदहरुको बाध्यता थियो तर आशको भरमा भोट हाल्ने नेपाली नागरिक र राजनीतिक दललाई उचाल्ने स्वघोषित विद्वानहरुलाई चाहीं नेपाली कांग्रेस र तत्कालीन राप्रपा नेपाल लगायत दल मिलेर संविधान जारी हुन्जेल घुमाई फिराई धर्म निरपेक्ष शब्द हटाउन सक्दछन भन्ने आशा थियो तर २०७२ साल असोज ३ गते धर्म निरपेक्ष शब्द राखेर संविधान जारी भए पछी नेपाली जनतालाई सायद बिस्तारै लज्जा बोध हुँदैछ । यहि लाज छोप्ने नाममा सायद बिच बिचमा विचित्र विचित्रका घटना परिघटना धार्मिक समाज लगायत देशमा देख्न पाइएको छ । यो लेखक पनि यिनै घटनाको बिचमा हुर्किंदै गरेकोले भोगेका र देखेका घटनाहरुको प्रसङ्ग उठाउने जमर्को गरेको छु ।
धर्मसापेक्ष र धर्मनिरपेक्ष
सर्वप्रथम नेपाली समाजमा धर्मसापेक्ष र निरपेक्षको शाब्दिक बुझाईमा ठुलो भ्रम छ । अझ नेपालको संविधानमा धर्म निरपेक्षको व्याख्या हेरेपछि धेरै नागरिक सोहि अनुरुप व्याख्या गर्न थाले । जँहा धर्म निरपेक्ष भनेको सनातन देखि चली आएका धर्म संस्कृतिको रक्षा गर्ने भन्ने बुज्नु पर्छ भनिएको छ जो सरासर गलत छ । धर्म निरपेक्ष भनेको धर्ममा अपेक्षा नराख्नु भन्ने बुझिन्छ । निरपेक्ष भनेको अपेक्षा नराख्नु हो जुन धर्ममा अपेक्षा राखिदैन, त्यसैको रक्षा गर्छु भन्नु सामान्य नागरिकलाई आँखामा छारो हाल्नु नै हो । सापेक्ष र निरपेक्षको अर्थ शब्दकोषमा नेपाली समाज हेर्न चाहँदैन किन कि आँफैले जिताएर पठाएको नेताको कुरा नपत्याएर बिरुद्धमा सोच्नु भन्दा बरु जे भन्छन त्यही मानेर हिड्दा कार्यकर्तालाई सजिलो भएको होला । जसले गर्दा काँक्रो भनेको जमिनमा फल्ने आलु जस्तो हुन्छ भनेर लेखे झैँ गर्दा पनि नेपाली समाज नयाँ संविधान पाएकोमा खुसी नै छ । तर यो जसो तसो मन बुझाएर बसेको समाज भित्रै नजानिंदो रुपमा धर्म निरपेक्ष शब्दको घाउले अंकुर हाल्दै छ जुन घाउबाट मुक्तिको लागि समाजले नयाँ बाटो रोज्न सक्ने पनि देखिन्छ, जसको कारण अहिलेको संविधान पनि दिर्घकालीन हुन नसक्ने शंका बढ्दै गएको छ ।
राप्रपा र धर्म
६२/६३ पछि कांग्रेस र कम्युनिष्टको विकल्प बनेर ७० साल सम्ममा देशको चौंथौ शक्ति बनेको राप्रपा ७४ सालमा आउँदा पुरानै अवस्थामा पुग्यो तर हामीले देखे बुझे अनुसार राप्रपाले धर्मको एजेण्डा हरेक बेला उठाएर नै अगाडी बढ्यो। संसदबाट धार्मिक क्षेत्रको पक्षमा उभिएको घटनाहरु इतिहास बनेर बसेका छन र हामीले बिर्सन त सकिन्न तर आन्तरिक पार्टी व्यवस्थापन, एकता र फुटको मारबाट समालीन नपाऊदै आएका दुई चुनावमा पार्टीले राम्रो जनमत ल्याऊन सकेन र पार्टी पुन: पुरानै अवस्थामा पुग्यो। साथमा आफुले सरकारमा बसेर गरेका राम्रा काम समेत जनतालाई बुझाउन सकेन, बरु त्यसको जस अरु पार्टीले लिन सफल भए। बरु जनतामा कांग्रेस र कम्युनिष्टको विकल्प हुन दिएको जनमत कांग्रेस र कम्युनिष्ट कै सरकारहरुमा सहभागी हुने पार्टीको कार्यनीति बनेको बिषयलाई लिएर ठुलो आक्रोश जनमानसमा पाईयो र भोट बढ्नु पर्नेमा भोट झन घट्यो ।
सरकारमा गएको रिससँगै विरोधीसँगको तालमेल,सरकार गठन र निरपेक्ष पक्षसँगको गठबन्धन, नागरिकलाई धर्मको लागि नै हो भन्ने विश्वास गर्ने वातावरण बनेन र दिन प्रतिदिन १० वर्षको उपलब्धिहरु घट्दै गए। तर राप्रपाले धर्म परिवर्तन र सनातन धर्म विरोधी गतिविधि बुझेर नै सन्तुलित हिसाबले नहुने बुझेर पार्टीकै संरक्षणमा धार्मिक संगठन पनि बनाएकोले सबै घटना परिघटना बाट सिकेर थप योजना र कार्य योजना त ल्याऊला नै । त्यही पनि राप्रपा सार्थक वैकल्पिक राष्ट्रप्रेमी धार्मिक पार्टी हो भन्ने प्रमाणित नहुनु र ढिलो हुनु समग्र धार्मिक क्षेत्रलाई थप समस्याको बिषय हो, साथै धार्मिक समाजको लागि अझ खतराका दिन आऊँदैछन भन्ने संकेत पनि हो।
राजावादी र धर्म
राजसहितको धर्म सापेक्षताको माग गर्ने पनि नेपालमा टुक्रिएको ठुलै जमात छ। तर विडम्वना राजावादी र हिन्दुहरुको मिलेर काम गर्न नसक्ने चरीत्रले गर्दा विरोधी शक्तिलाई राम्रो फाईदा पुर्याएको छ। जसको उदाहरण तत्कालीन राप्रपा नेपालका कार्यकर्ताहरुले भरिएको कार्यक्रम विश्व हिन्दु महासंघ नामको गुटले गरेको कथित विराट हिन्दु सम्मेलनमा कमल थापा भन्दा ठुला राजावादी र हिन्दु वादी बन्ने वा देखिने नाटक मन्चन थियो। जसले गर्दा राजावादी-राजावादी विचमा योग्यताको प्रतिस्पर्धा हुनु पर्ने र आफ्नो विचार कमजोर भएको बेला सबैसँग सहकार्य वा मोर्चाबन्दी गर्नुपर्ने बेलामा सहकार्यको सोच त पर जाओस पुरानै हुकुमी शैली र आडम्ब देखाएर गैर धार्मिक मान्छेहरु राजाको नामको आडमा समाजमा जनाधार नभएका कोठा भित्रको भक्त बनेर देखिदै धर्मको आडमा अझ पनि स्थापित हुन खोजिरहेको प्रष्ट हुन्छ। जसले गर्दा राजावादीहरु आँफै भित्रको फुट र तित्तताले गर्दा आम जनताले कुनै नेतृत्वलाई जसरी लिनु पर्ने हो लिन सकेको छैन । यस्ता घटना हुनुमा दरबार केन्द्रीत गुटहरुलाई राजपरिवारबाटै मिलेर काम गर्न निर्देशन नदिनु पनि अर्को शंकाको विषय त छँदैछ। तर जे होस फुटेर भए पनि राजा सहितै भए पनि धर्मको पक्षमा साना/तिना कार्यक्रम बनाएर आफ्नो आफ्नो गुटको उपस्थिति देखाऊनु धर्मको पक्षमा राम्रो नै मान्नु पर्छ।
धार्मिक क्षेत्र र धर्म
सबै भन्दा ठुलो धर्मको सरोकारवाला समाज धार्मिक समाज हो । यो क्षेत्रलाई नै ६२/६३ पछि बनेको संविधान र व्यवस्था मन परेको छैन। पुरानो कालमा पुरानै तरिकाले चलेको धार्मिक क्षेत्र एकैचोटी धर्मनिरपेक्ष संविधान आउँछ भन्नेमा नि विश्वस्त थिएन । ४६ साल पछि का नेतृत्वमा रहेको कांग्रेस र एमालेले धर्मको एजेण्डा पनि माओवादीको बुई चडाई दिन्छ भन्ने सायद विश्वास थिएन। एकै चोटी धर्मनिरपेक्ष संविधान बनेपछि प्रतिकार गर्ने हैसियत नभएको असंगठित ठुलो जमात अलमलमा परेको कुरा हामी सबैले देखेकै हो। तर पनि एक्ला-एक्लै भएपनि कोही रत्नपार्कमा धर्ना दिने, खुलामन्चमा अनसन दिने त कोही विशाल धार्मिक सभा र कोहि पुर्व कोहि पश्चिम आफुले सकेको गर्ने चरीत्र देखा परेकै हो।
यसै शिलशिलामा ७१ सालमा धार्मिक संघ संस्थाहरुको राष्ट्रीय सम्मेलन गरेर बनेको सनातन हिन्दु मोर्चाले पनि सबैको विश्वास जितेर आन्दोलन गर्न सकेन। कारण मोर्चा बन्दी गर्ने चरीत्रको अभाव र गुरुहरुले खोज्ने एकल जसको व्यवस्थापन र गुटगत स्वार्थ सम्बोधन गर्न नसक्नु धार्मिक क्षेत्रको लागि बिडम्बना बन्यो। अर्को तिर विश्व हिन्दु महासंघको नाममा भएको गैर धार्मिक चरीत्रका बर्षौ देखिको गुटगत चरीत्रबाट वाक्क जनताले विश्वासको रेखा खिच्ने संस्था र नेतृत्व देखेनन् वा पाएनन्। आजको दिनसम्म पनि यही विधि विधान र संगठनबाट यो देशलाई सनातन हिन्दु राष्ट्र कायम गर्छौ भन्ने हैसियत तागत र दृष्टिकोण दिन सक्ने नेपाली साधु-सन्त गुरु वा धार्मिक व्यक्ति हामीले देखि नसकेको तितो यथार्थता छँदै छ। अझ यो सबै घटना परिवेशलाई समेट्न वा मिलाऊन नखोज्ने साधु-सन्त र गुरुहरु कुन धर्म निभाऊदै छन्, समाज र समयले प्रश्न गर्ला नै।
नागरिक समाज र धर्म
नेपालमा हामीले देखेका विद्वानहरु भुगोल नसुहाऊदो शिक्षा निती घोकेर पाएका प्रमाण पत्रमा आधारित नै छन् । जसलाई नागरीक समाजले अघुवा मान्छ। अझ पछिल्ले समयमा विदेशी कुनै संस्थाहरुले पालेका वा विदेशी सम्वन्धमा आधारित आम्दानी भएकाहरु ठुला आदर्शवादी भएर विचार राख्ने गरेको पाईन्छ। जसले गर्दा हाम्रो भुगोल इतिहास र परम्परा सँग टाढा पुगेका अध्यात्म र भौतिक ज्ञानलाई सन्तुलीत व्याख्या गर्न नजान्ने, कुनै न कुनै विदेशी दर्शन र पार्टी नजिक रहेका अगुवा हुनाले देशको मुल नागरीक समाज सार्थक बन्न सकेन। मानव विकासको क्रमसँगै जोडिएको पुर्वीय संस्कृति र सभ्यता जसलाई आधुनिक विश्वले कुनै प्रश्न गर्न सक्ने आधारसम्म थिएन, यस्तो विशाल गौरव बोकेको दर्शन माथी नाङ्गो प्रहार हुँदा बोल्न नसक्ने समाज र कार्यकर्ताको समाजलाई नागरिक समाज भन्न मिल्ने छैन। यो समयको नागरिक समाजलाई इतिहासले ज्ञान शुन्य समयको संज्ञा दिने कुरामा हामी विश्वास राख्न सक्छौं।
निष्कर्ष
आजको मितिसम्म जो जसले जुन उदेश्यले जे-जे गरे पनि गरी सकेकोले हामीले समिक्षा गर्नु र भावी पुस्तालाई सुचना दिन बाहेक केही गर्न सक्दैनौ। तर भोलि हामी सबैको हो, भावी पुस्तालाई यो देश र समाज छोडेर जानु पर्दछ । भगवानको खोजीमा समर्पित गुरुहरु विचारवान भएर देश र धर्मको लागि बाँकी जीवन अर्पने हो भने पुर्खाको कुनै पनि गौरव हामी पुन:स्थापित गर्न सक्दछौं। तर राजनीति गर्दिन भन्ने तर राजनीतिक लाभ र हानीको भरमा आफुलाई सन्तुलित बनाउने नाममा राजनीतिले गरेको निर्मम धर्म माथीको प्रहारलाई हेरेर बस्न कुनै गुरुलाई सुहाउँदैन। नितीमा राज गरे राजनीति हुन्छ निती छोड्ने बित्तिकै राजनिति हुदैन कुनीति हुन्छ। कुनीतिलाई राजनीतिमा रुपान्तरण गर्नु ज्ञानी गुरुहरुको पहिलो समाजिक धर्म हो । निती छोड्ने राज परम्परामा गुरुहरुले हस्तक्षेप गरेको कैयौं हाम्रो गौरवशाली इतिहास छ। नेपाली जनताले सुख र समृद्धिको लागी कांग्रेस र कम्युनिष्टलाई स्वीकारेका हुन । आजिवन यिनकै पाप बोक्नलाई कांग्रेस-कम्युनिष्ट भएको पनि हैन। बलियो विकल्प देशको र जनताको हित सोच्ने नेतृत्व नपाएर मानेको हो। जनताले आशामा बोकेका नेतृत्व र नेताबाट इतिहाँस नै बेचेर गाडि चढेको देखी सके, तसर्थ धार्मिक समाजले अब पुन: राष्ट्रिय बहस गरेर शक्ति केन्द्र खोज्नु पर्छ र बनाऊनु पर्छ । हो राजनीति अन्तर्गत धार्मिक गुरु हुन हुँदैन । हिजोको शासकहरुलाई धर्म जिम्मा लगाउनाले आज धार्मिक समाजसँग केही पनि बचेन । अबका दिनमा धार्मिक समाज आँफै उभिने हिम्मत जुटाउनु पर्छ। राजनीतिको गल्ति सच्याऊन निर्देशन गर्न सक्ने चरित्र र सोच बनाएर बस्ने आवश्यकता समयले संकेत गरेको छ । तर एक गुरुले अर्को गुरुको निन्दा गर्दा त्यही भक्त दुवै गुरुकोमा पुगेर के सोच्छ भन्ने ज्ञान नभएका गुरु भएपछि किताबी कोरा ज्ञान मात्र छ भनेर समाजले आरोप लगाउन सक्छ र शास्त्रको ज्ञान चरीत्रको रुपमा धारण गर्ने परम्परालाई बँचाउन गुरुहरुले नै उदाहरण प्रस्तुत गर्नु पर्छ। साथै सबै धार्मिक संघ/संस्था सम्प्रदाय अट्ने विधि विधानको संयोजन गरी सामुहिक पद्दती अपनाएर निती र नेतृत्व छान्ने जनमतको सम्बोधन गर्ने चरीत्रको खोजि गर्ने र गल्ती गर्दा गुरुहरुले नै सचेत बनाउने परम्परा नै सनातनतन्त्रको रक्षा हो। एउटा विशाल धार्मिक संगठन अबको देशको आवश्यकता हो। जसमा पुरै धार्मिक समाज जति शक्दो छिटो संगठित हुनुको विकल्प छैन र युग साक्षी छ। धर्मले राजनीतिलाई छोडेर हिडेको छैन बरु समालेको छ। राप्रपा लगायत हाम्रो धर्म-संस्कृति रक्षार्थ संचालित दलहरुसँग वैरभाव हैन सहकार्य गर्ने विधि धार्मिक क्षेत्रले बनाउनु पर्थ्यो र पर्छ।१० वर्ष बित्दासम्म सबैतिरबाट निराशा मात्र हात लाग्नु सबैको कार्य योजना विफल हुनु हो । धार्मिक गुरुले बेलैमा सचेत भएर सबैलाई सहि मार्गदर्शन दिएको भए सायद आज यो दिन देख्न पर्ने थिएन।त्यसैले सबै धार्मिक दल लगायत राप्रपासँग कार्यगत एकता भने हुनै पर्छ। भोलीका दिनमा पनि कुनै उपलब्धि उक्त एजेण्डा जोगाउन हामीलाई राजनीतिक शक्ति नै आवश्यक पर्छ। गुरु ,संघ संस्थाका प्रतिनिधिहरु संसदमा नहुने र संसदको निर्णय नै सर्वोपरी हुने व्यवस्थामा राजनीतिबाट टाढा बसेर धर्म जोगाउछु भन्नु कति जायछ छ? समिक्षा गरौ। धर्मको रक्षा गर्ने विश्वासिलो राजनीतिक शक्ति र धार्मिक क्षेत्रले स्वतन्त्र ढंगले बनाएको चरीत्र सहितको धार्मिक शक्ति केन्द्र नै अबको धर्म राजनीतिको लक्ष्य हुनु पर्दछ।
तसर्थ धार्मिक क्षेत्रसँग योजना हुनु पर्छ। त्यही योजनाले धार्मिक क्षेत्र र धर्म मान्ने राजनीतिक क्षेत्रबाट लाखौं मान्छे काठमाडौंमा उतारेर आन्दोलन हुनु पर्छ जसको लागि निम्न निर्णय आवश्यक छन् ।
१.देशै भरिका धार्मिक मठ,मन्दिर,गुम्वा,गुरु, पुरोहित,ज्योतिष,संघ संस्था र संगठनहरुको राष्ट्रिय सम्मेलन बोलाएर स्वतन्त्र धार्मिक शक्ति केन्द्र वा महासंघ बनाउने।
२.धार्मिक आचरण र चरित्र भएका व्यक्तिहरुलाई प्रतिनिधि बनाएर धर्मराजनीति गर्ने पार्टीमा पठाउने र धार्मिक राजनीतिक शक्ति केन्द्र बनाऊन सहयोग गर्ने ।
३. दुवै पक्षबाट तयारी पुरा गरेर संयुक्त आन्दोलनको आवाह्न गर्ने।
लेखक राष्ट्रिय धर्म सभा नेपालका महासचिव,सनातन हिन्दु मोर्चाको प्रवक्ता र नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख हुनुहुन्छ ।
[email protected]