एजेन्सी– पाकिस्तानले नयाँ प्रधानममन्त्री पाएलगत्तै अबको केही दिनमै नयाँ राष्ट्रपति पनि पाउँदैछ । वर्तमान राष्ट्रपति ममनुन हुसैनको कार्यकाल ८ सेप्टेम्बरमा सकिदैछ । राष्ट्रपति हुसैनको कार्यकाल सकिदै गर्दा आज त्यहाँ नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपतिको निर्वाचनमा कसले जित हासिल गर्ला ?
अहिले पाकिस्तानमा राजनीतिक बहस चुलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सत्तारुढ दल पिटिएआइ पार्टीका उम्मेद्वार अरिफ अल्चीले जित्ने सम्भावना नजिक रहेको छ । सत्तारुढ दलका उम्मेद्वार अल्चीको दाँजोमा अन्य उम्मेद्वारहरुको प्रभाव न्यून रहेको बताइन्छ । पाकिस्तान चुनाव आयोगले सोमबार निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।
पाकिस्तानी नेश्नल एसेम्बलीले चार प्रान्तमा मतदान केन्द्र तोक्ने काम गरिसकेको छ । चुनावका लागि निर्वाचन आयुक्त सरदार रजा खान तोकिएका छन् । वर्तमान राष्ट्रपति हुसैनले दोश्रो कार्यकालका लागि चुनावी मैदानमा नउत्रिने घोषणा गरिसकेका छन् ।
नयाँ राष्ट्रपतिका प्रबल सम्भावना रहेका अल्चीसँग पाकिस्तान पिपल्स पार्टीका उम्मेद्वारको कडा प्रतिस्पर्धा हुनसक्ने सञ्चारमाध्यामहरुले जनाएका छन् । सत्तारुढ दल पिटिएआईका उम्मेद्वार अल्चीको पृष्ठभूमी डेन्टिष्ट चिकित्सक हो । उनको राजनीतिक कर्मभूमी कराँची हो ।
प्रधानमन्त्रीको चुनावजस्तै पाकिस्तानमा नयाँ राष्ट्रपतिको चुनावमा पनि संयुक्त विपक्षी गठबन्धन बनेको छ । त्यसमा पाकिस्तान पिपल्स पार्टी, पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) लगायतले नेतृत्व गरिरहेका छन् ।
कही दिनअघि पाकिस्तानमा पिटिएआईका नेता इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनकै पार्टीका उम्मेद्वार अरिफले पनि राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गर्नसक्ने आंकलन गरिएको छ । आरिफ राष्ट्रपतिमा निर्वाचित हुने चर्चासँगै पाकिस्तानमा एउटै दलले केही वर्षका लागि सत्ताको नेतृत्व लिने सम्भावना बढेर गएको अन्तर्राष्यिट्रय सञ्चारमाध्यामहरुको दाबी छ ।