संजाल शर्मा,
दर्शनको सही व्याख्या नगरेसम्म सामाजिक परिवर्तनको गति अगाडि बढाउन सकिँदैन । दर्शन भन्नु नै संसारको स्वरूपको व्याख्या र त्यसमा मानव जातिको स्थान अथवा मानव सङ्घर्षको विश्व दृष्टिकोण हो । दास युगदेखि समाज दुई वीरोधी वर्गमा बाँडिएको थियो, जुन अहिलेसम्म पनि हुने खाने र हुँदा खाने वर्गको बीच सङ्घर्ष चलिरहेको र चलिरहने छ, जबसम्म विश्व नै साम्यवादी मुलुक हुने छैन । यसरी नै दर्शन वर्गसङ्घर्षको हतियार बन्दै गहिरहेको छ ।
हाम्रो सामु विश्व उत्पत्तिबारे दुई प्रकारका चिन्तन अगाडि आएका छन् । त्यस किसिमका दर्शनलाई हामी ईश्वरवादी चिन्तन र भौतिकवादी चिन्तन भनी बुझ्ने गर्छौँ । यी दुई प्रकारका चिन्तनले आफ्नै वर्गीय दृष्टिकोणलाई अभिव्यक्त गर्दछन् । शोषक वर्गले विभिन्न प्रकारका भ्रमजाल र झुटद्वारा नै आफ्नै वर्गीय चरित्र कायम राख्न खोज्छ तर शोषित वर्ग वा श्रमिक वर्गले आफ्नै वर्गीय स्थिति र उद्देश्य अनुरूप त्यस प्रकारका भ्रम जाल र मुद्दा आवरणभित्र लुकेका स्वार्थभित्र के छ ? वास्तविकता र हुनु पर्ने के हो भन्ने कुरा जान्न, बुझ्न वा सत्यको नजिक पुग्न खोज्दछ । त्यही नै श्रमिक वर्गका क्रान्तिकारी वर्गीय चरित्र हो ।
दर्शन वर्गीय नै हुने गर्दछ । कुनै पनि वर्ग आफ्नो चरित्र अनुकुलको राजनैतिक पार्टीको प्रतिनिधि बन्दछ । विषेशतः पुरानो समाज होस् वा आधुनिक समाज, समाजका टाठाबाठाले नै दर्शनको रूपमा आफ्ना विचार अभिव्यक्त गरेको पाउँछौँ । त्यहाँ नियोजित रूपले आफ्नै स्वार्थलाई घुसाइएको हुन्छ । त्यही स्वार्थले नै आज मानिसमाथि मानिसको शोषण भइरहेको छ । हामीले यो बुझ्नु अनिवार्य छ कि मजदुर वर्गलाई छोडेर समाजको नेतृत्व लिन खोज्ने वर्गहरू सबै शोषक वर्ग हुन् ।
हामीमाथि चर्चा गयौँ कि दास युगदेखि नै समाजमा वर्गहरू विभाजित बने । सोही समयका अर्थात् दास युगका महान् दार्शनिक अरस्तुले “दास प्रथा प्राकृतिक नियम हो, किनकि केही मानिसहरू स्वभावले नै दास हुन्छन्” भनेर व्याख्या गरे । तर हामी यो दार्शनिक पक्षलाई सही माक्र्सवादी–लेनिनवादी पार्टीको विश्व दृष्टिकोण अनुसार नै सही व्याख्या र विश्लेषण गरी बुझ्न जरूरी छ । दास प्रथा वर्गीय स्वार्थ अनुरूप मजदुर वर्गलाई झुटो ज्ञान दिएर शोषकको हित अनुकूल प्रयोग गर्न खोजियो । तर माक्र्सवादी व्याख्या यतिमै सीमित नगरिकन “शासको हितको लागि प्रयोग हुँदै आएका मजदुर यस किसिमको दासताबाट मुक्ति पाउनका लागि सङ्घर्ष गर्नु नै क्रान्तिकारीको वर्गीय चरित्र हुनुपर्दछ ।”
काल माक्र्सले फायरवाखबारेको एघारौँ अनुसन्धानात्मक निबन्धमा लेख्नु भएको छ - “दार्शनिकहरूले विश्वको बेग्ला–बेग्लै व्याख्या मात्रै गरेका छन् तर प्रश्न त्यसलाई बदल्नु हो ।” त्यसकारण मजदुरहरू मालिकको दासताबाट छुटकारा पाउनका लागि सङ्घर्षको नयाँ विधि अपनाउनु पर्छ भन्न खोजिएको हो । सबै मानिस जन्मने र मर्ने प्रक्रिया उही हो, तर कोही दास कोही मालिक किन ? अहिलेको हाम्रो समाज पूँजीवादी समाज हो । हामीसँग पूँजीवादी समाजलाई हेर्ने र फेर्ने दृष्टिकोण हुन जरूरी छ । हामी व्याख्या पढ्न र हेर्ने कुरामा अगाडि छौँ तर द्वन्द्वात्मक भौतिकवादी दार्शनिक हिसाबले हामी कोरा दर्शनलाई फेर्न तयार छैनौँ । स्कुलको औपचारिक शिक्षामा त्रिकोण, चारकोण, पञ्चकोण पढ्छौँ । घरको अनौपचारिक शिक्षामा पुरानो रूढिवादी संस्कार अनुसार चल्छौँ । राजनीतिलाई झुट र पाखण्डी ठान्छौँ । अनि, हाम्रो जीवनलाई काम लाग्ने दृष्टिकोण कहिले परिवर्तन हुन्छ ।
पृथ्वीको उत्पत्तिबारे ईश्वरवादीका धेरै कल्पना छन् । ऋग्वेदमा लेखिएको छ ः सृष्टि एक महान् शक्तिको प्रकट रूप हो । त्यो शक्ति कतै लुकेको छ ।” आदर्शवादीले अन्धो ज्ञानलाई यो वा त्यो नाममा ईश्वरमाथि क्रोध थप्छन् । थप अनुसन्धानमा लाग्दैनन् । अनि, तर्कको रूपमा थप्छन् “कुनै बेला त्यो शक्ति ज्ञान र सङ्कल्प लिएर प्रकट भयो । त्यसबाट मन निस्कियो । त्यहीँबाट प्रकृति र पुरूष बने । प्रकृतिमा सत्व, रज, तम तिन गुण छन् । तिनैको आधारमा यो संसारको सृष्टि भो ।” त्यस्तै भागवतमा भनिएको छ - भगवान विष्णुको शेषमायी नाग सुतेका थिए । तिनको नाइटोबाट कमल उम्रियो । त्यसमा चारमुखे ब्रह्मा प्रकट भए । तिनले कोट्याएर फालेको मयलबाट मधु र कैटभ दुई दानव जन्मे ।पछि ती दावनले ब्रह्मालाई आक्रमण गर्न खोजे । ब्रह्माले विष्णुलाई गुहारेपछि विष्णुले दानवलाई मारेर तिनकै मासु र हाड छालाबाट यो पृथ्वी बनाए ।”
ईश्वरीय चिन्तनलाई चुनौती दिँदै जर्मनका दार्शनिक इमानुएल कान्ट (१७२४–१८०४) ले प्राकृतिक विज्ञानको गहिरो अध्ययन गरे र यो निचोड निकाले कि “पृथ्वी र सौर्यमण्डलका अरू सबै ग्रहहरूको उत्पत्ति आकासको एक ठूलो ताराबाट भएको हो ।” यस अघि पन्ध्रौैँ शताब्दीमा निकोलसले पृथ्वीलाई विश्वको केन्द्र मान्ने र पृथ्वीको वरिपरि सूर्य घुम्ने पुरानो धारणाका विरुद्ध सूर्यलाई केन्द्र मान्ने र सूर्यको वरिपरि पृथ्वी घुम्ने तथ्य पत्ता लगाइसकेका थिए । यस सत्यले युरोप र विश्वभरि नै हल्लीखल्ली मच्चाइदियो । फेरि केही समयको अन्तरालमा इटलीका वैज्ञानिक ग्यालिलियोले भनेका थिए , सूर्य सौर्यमण्डलको केन्द्र हो । सूर्य आफ्नो परिवार लिएर एउटा निश्चित घेरामा घुमिरहेको छ । यस्ता सौर्यमण्डल विशाल आकासमा अनन्त छन् । यसरी युरोपमा भौतिकवादी चिन्तन बढेर गयो, जसको परिमाण सामन्ती समाजलाई चुनौती दिँदै नयाँ समाजका आवश्यकता पूरा गर्न भौतिकवादीले आम फड्को मार्दै गएपछि विज्ञानमा नयाँ आयाम थपियो । अन्ततः विज्ञानमा विभिन्न शाखाको प्रयोग र विकास हुँदै गयो भने स्वाभाविक रूपमा ईश्वरवादी र धार्मिक कल्पना फेल हुँदै गए ।
भौतिकवादको नयाँ व्याख्या खालि दर्शन र चिन्तनको क्षेत्रमा मात्र सीमित नबन्दै पुराना व्यवस्थाको विरुद्धमा खरो रूपमा अगाडि बढ्यो । विश्वमा धर्मले चलाएका राज्य खतम हुँदै गए । एउटा उदाहरण हेरौँ । मानिस धनि र गरिब किन बन्छ ? विशेषतः गरिबले यसको उत्तर “ईश्वरको लीला हो सबै” भनेर भन्ने गर्दछन् । यो नै टाठाबाठा शोषकले धर्मको नाममा उनीहरूलाई लुट्ने स्वार्थ अनुसार सिकाएको ज्ञान नै हो । कतै कतै हामीले फरक जबाफ पनि पाउँछौँ । विशेष गरेर भौतिकवादी चिन्तन राख्नेले जबाफ दिन्छन् कि “जो स्रोत र साधनको बढी दोहन गर्दछ अथवा धेरै कुशलतापूर्वक मिहिनेत गर्न धनि र विपरीत नगर्ने गरिब ।
हामी अर्को उदाहरण पनि लिन सक्छौँ । नेपालमा २०७२ बैशाख १२ गते विनासकारी महाभूकम्प गयो । भूकम्प एक प्राकृतिक प्रकोप हो । यो बिल्कुल पृथ्वीभित्र रहेको पदार्थबीच हुने आन्तरिक सङ्घर्ष हो । यस किसिमका विपत्ति पृथ्वीमा लाखौँ वर्ष पहिलेदेखि हुँदै आइरहेका छन् । भूकम्प जानुको कारण पृथ्वीको भित्री सतहमा रहेका चट्टान (प्लेट) आपसमा ठोक्किँदा वा घुस्दा पृथ्वीको सतहमा हलचल पैदा हुने हो तर ईश्वरवादी चिन्तनबाट ग्रसित मानिसहरूले मानिसले गरेको पापको प्रतिफल पनि बताए । भूकम्प जाने समयमा नारायण, विष्णु, राम जस्ता धर्म गुरूहरू नाम जप्दै बसे । आखिर पृथ्वीको उत्पत्ति ईश्वर हुन् भन्नेहरूका लागि भूकम्प जाने कारण नै ईश्वर रिसाउनुको कारण थियो र कतिले ईश्वरलाई गाली गरे । कतिले गरेका गल्तीको क्षमायाचनाका लागि महायज्ञहरू पनि गरे । त्यसकारण यस्ता प्रशस्त सवालमा भौतिकवादी चिन्तन राख्ने र नराख्नेका बीचमा ठूलो मतभेद रहेको पाइन्छ ।
हामी भौतिकवाद र आदर्शवादबीचको अन्तरलाई तिनीहरूको सारतत्व प्रष्ट हुने गरी परिभाषित गर्न जरूरत छ । यसै कुराबारे एङ्गेल्स भन्नु भएको छ ः “सम्पूर्ण दर्शनको विशेषतः आधुनिक र आधारभूत प्रश्न चिन्तन र सत्यबीचको सम्बन्धको प्रश्न हो... । यस प्रश्नका बारेमा दार्शनिकहरूद्वारा दिइएका उत्तरलाई दुई ठूला बेग्ला–बेग्लै खेमामा बाँडिदियो । जुन दार्शनिकहरूले प्रकृतिको अपेक्षा आत्मको प्राथमिकतामाथि जोड दिएर त्यसरी संसारको उत्पत्तिको स्रोत आखिरमा कुनै न कुनै रूपले आत्मालाई माने । जसले प्रकृतिलाई प्राथमिक मान्थे, भौतिकवादका विभिन्न विचार शाखाहरूमा मिल्न गए ।” त्यसकारण आदर्शवाद नै त्यस किसिमको पद्धति हो, जसले विचारलाई भौतिक तत्वभन्दा पहिलो राख्दछ । भौतिक तत्व अध्यात्मिक वस्तुमाथि आश्रित हुन्छ भन्ने दृष्टिकोण आदर्शवादले नै राख्दछ । तर भौतिकवादी दृष्टिकोण अनुसार बाह्य संसार हाम्रो ज्ञानभन्दा छुट्टै स्वतन्त्र छ भन्ने कुरामा जोड दिन्छ । प्राकृतिक परिवर्तन र सामाजिक परिवर्तन सधै गतिशील र सकारात्मक हुन्छ भन्ने पनि छैन । हामीले समाजवादलाई अङ्गिकार गर्दैनौँ भने हामीहरूले नचाहँदा नचाहँदै पूँजीवादी विचार, समाजवादविरोधी विचार अपनाउन पुग्छौँ । त्यसकारण मजदुर वर्गको पार्टी आफ्नै वर्गलाई हित गर्न दर्शनमा अडिक रहनु पर्छ । त्यस सवालमा क्रान्तिकारी पार्टीको एउटा दर्शनको रूपमा द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्नु पर्छ । द्वन्द्वात्मक भौतिकवाद कुनै न कुनै वस्तुलाई बुझ्ने र सत्यको नजिक पुग्ने विज्ञान हो । यो नै मालेमा दर्शनको एउटा भाग हो । द्वन्द्वात्मक भौतिकवादले नै प्रकृति, समाज, चेतनाको उत्पत्ति र विकासको प्रक्रियालाई वस्तुगत रूपमा अध्ययन गर्दछ । यसले भौतिक पदार्थलाई नै प्रमुख ठान्दछ भने चेतना दोस्रो । विश्वलाई हेर्दा कुनै पनि वस्तु स्थिर छैन । त्यसको स्वरूप परिवर्तन भैरहेको छ । तिनै पदार्थ टुक्रिने र जोडिले प्रक्रिया चलिरहेछ र पुरानो वस्तु नयाँ वस्तु बनिरहेको छ ।
हामीले एउटा उदाहरणबाट हेरौँ । घर बन्नलाई ढुङ्गा, माटो, काठ, फलाम, मजदुर आदि चाहिन्छ । घर बन्नलाई मूलतः स्वरूप निर्माण हुनु पर्छ, नत्र घर बन्ने आवश्यक समान थुपार्दैमा त्यो घर बन्न सक्दैन । घरलाई चाहिने आवश्यक सामाग्री तयार गरेपछि घर बनाउनुस् र बस्नुस् मात्र, त्यसलाई जो कोहीले घर भन्न सक्छ । फेरि बनिसकेको घर भत्काई, ढुङ्गा, माटो, झ्याल फलाम आदिलाई एक एक ठाउँमा राख्नुस् र सोध्नु होस्– यो वा त्यो के हो भनेर । त्यहाँ उत्तर आउने छ– यो यो ढुङ्गा, यो झ्याल आदि । फेरि झ्याललाई टुक्राउनुस् । अनि, त्यो मात्र काठको टुक्रा बन्ने छ । ढुङ्गा टुक्राउनुस् मसिनो गरेर, त्यो गिट्टी वा बालुवा बन्ने छ । फेरि त्यो माटो वा बालुवालाई रसायनद्वारा जमाउनुस्, त्यो इँटा वा ब्लक बन्ने छ । काठलाई पोल्नुस् आगोमा, त्यो खरानी बन्ने छ । त्यसकारण हरेक वस्तु परिवर्तनशील छ । यसबाट हरेक वस्तुहरू परिवर्तनशील भएको बुझ्न सकिन्छ । त्यो पदार्थलाई फेरि टुक्राउनुस् साना साना कणमा, तत्व बन्ने छ । हाम्रो पृथ्वीमा आजसम्म ११८ तत्व पत्ता लागिसकेका छन् । तिनै तत्वबाट विश्वका लाखौँथरि चिज बनेका छन् । वस्तुभित्रको सुक्ष्म तत्वहरूको जानकारी नहुँदासम्म मानिसले चेतना पहिलो भनी हल्ला मच्चाउनु परेको थियो । तर वस्तुभित्र रहेका स–साना अणुको गतिशीलता बहिरी आँखाले देख्न नसक्दा मात्र निक्रिय जस्ता देखिन्छन् । तर प्रमाण, कण र विकणको रूपमा हेर्ने हो भने वस्तु गतिशील र परिवर्तनशील छन् । द्वन्द्व र गति नभएको संसारका कुनै वस्तु छैन । निर्जीव वस्तुहरूलाई पनि हुन्छ मा लैजाने हो भने त्यहाँ सजिव तत्वको उत्पत्ति हुन सक्छ । हामीले फलामलाई हथौँडाले हान्दा टिङ टिङ आवाज आउँछ । त्यो पनि फलामका अणुहरूको कम्पन वा चाल (गति) कै कारण हो । आज विश्वमा सरल वस्तुबाट जटिल वस्तु बनाउन सकिएको छ । त्यसै गरी शरीर र दिमागको समेत निर्माण गर्न जीवन र चेतनाका मूल आधार बनेका जीवकोषहरू कृत्रिम तरिकाबाट बन्न सक्दा जीवन र चेतनाको ठूलो रहस्य प्रकृतिबाट नै खुलेको छ । पाँच लाख वर्ष पहिलदेखि अहिलेसम्मको जीवित प्राणीहरूसम्मको गाथा बुझ्न हामीलाई मात्र त्यस कालखण्डका निर्जिव जिवाशेष अध्ययन गरेमा पुग्छ ।
त्यसकारण द्वन्द्ववादलाई बुझ्ने प्रयोयशाला नै प्रकृति हो । मानिसलाई अनुभवका लागि प्रकृतिले सामाग्री जुटाइदिएको छ । मोटामोटी रूपमा भन्नु पर्दा प्रकृति परिवर्तनको प्रक्रिया नै द्वन्द्ववादी छ । अतः यो द्वन्द्ववादी सिद्धान्त आफैमा निरीक्षण र पर्यवेक्षण गर्ने मात्र चिन्तन होइन कि त्यसलाई बदल्ने कुरामाथि आधारित छ । तसर्थ आजको विज्ञानको हरेक प्रगति ईश्वरवाद वा आदर्शवाद विरुद्ध भौतिकवादको प्रगति हो ।